एजेन्सी – चीनले भारत विरोधी अभियानको लागि विभिन्न संगठनलाई करोडौं रुपैंया दिएको भारतीय संचार माध्यमहरुले आरोप लगाएका छन्। खुफिया एजेन्सीको हवाला दिँदै भारतीय संचार माध्यमहरुले भारत विरुद्ध प्रदर्शन गर्न विभिन्न संगठनलाई चीनले करोडौं रकम दिएको दावी गरेका हुन्।
भारत र नेपालको सीमा क्षेत्रमा रहेका जनतालाई भड्काउन तथा प्रदर्शन गराउन चीनले ४ करोड भन्दा बढी नेपाली रुपैंया खर्च गरिसकेको भारतीय संचार माध्यमहरुको आरोप छ।
“चीनले लगातार नेपाल संगठनहरुलाई पैसा दिएर प्रदर्शनका लागि तयार गरिरहेको छ। गुप्तचर एजेन्सीका अनुसार चीनले यसका लागि भारत नजिकैका धेरै रहेका सीमावर्ती क्षेत्रहरूमा नेपाली संगठनहरू तयार पारिरहेको छ।”,एक भारतीय संचार माध्यमले समाचारमा भनेको छ।
नेपाल स्थित चिनियाँ दूतावास लगातार आर्थिक खर्च गरिरहेको समाचारमा दावी गरिएको छ। नेपालमा पछिल्लो समय भारत विरुद्ध उठिरहेको जनआवाजलाई भारतीय संचार माध्यमहरुले चीनको उक्सावट भनेका छन्।
कालापानी-लिपुलेक लगायतका क्षेत्रमा भारतले लगातार कब्जा जमाएपछि नेपाल-भारत सम्बन्ध बिग्रिएको छ। नेपालले यी क्षेत्र आफ्नो नक्सामै समावेश गरेपछि सम्बन्ध थप जटिल बनेको छ।
नेपालले आफ्नो भूमि दावी गरेको विषयलाई भारतीय संचार माध्यमहरु चीनले उचालेको भनिरहेका छन्।