काठमाडौँ – भारत हुँदा नेपाल प्रवेश गरेको सलहले हिमाल समेत नाघेको खुल्न आएको छ। कीटविज्ञ समुद्रलाल जोशीले सलहले हिमाल समेत नाघेको र तिब्बत सम्म पुगेको थाहा हुन आएको बताएका छन्।
सलह पहाड सम्म पुगेपनि हिमालै चढ्ला भन्ने आफूहरुले नसोचेको भएपनि त्यसको ठीक विपरित हिमाल नाघेर तिब्बत सम्म पुगेको प्रमाण भेटिएको उनले बताए।
“यस पटक भारतहुँदै नेपाल आएका सलहहरू नेपालको पहाडी मात्र होइन, हिमाली क्षेत्र समेत पार गरेर तिब्बत पुगेको जानकारी आयो। त्यो भनेको हाम्रा लागि नयाँ रहस्योद्घाटन नै हो।”,उनी भन्छन्,”यसअघि हामीले पहाडसम्म गए पनि सलहले हिमालै चढ्ला भन्ने सोचेका थिएनौँ। यो कीरा २० डिग्री सेल्सीअसभन्दा कम तापक्रममा बाँच्दैन भन्ने गरिएको छ। तर यस पटक हिमाल पार गरेर तिब्बत पुगेछ।”
प्लान्ट क्वारन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँका अनुसार गत साउन पहिलो सातातिर चिनियाँ अधिकारीहरूले नेपालको बाटो हुँदै सलह तिब्बतमा पुगेको जानकारी गराएका थिए।
उनले भने, “मलाई चीनका कृषि अधिकारीहरूले फोन गरेर पनि जानकारी दिनु भएको थियो। पछि जूम मीटिङ पनि गर्यौँ र त्यसबारे छलफल गरेका थियौँ।”
“नेपालमा हिमाली जिल्लाहरूमा हुम्ला र मुस्ताङमा सलह पुगेको विवरण आएको थियो। ती क्षेत्रबाटै तिब्बतमा सलह प्रवेश गरेको अनुमान गरिएको छ।”
उनका अनुसार चिनियाँ अधिकारीहरूले नेपाल-चीन सीमा क्षेत्रबाट करिब १० किलोमिटर क्षेत्रभित्र पाँच स्थानमा सलह प्रवेश गरेको जानकारी दिएका थिए।
“तर ती सलह निकै कमजोर अवस्थामा त्यहाँ पुगेकाले खासै क्षति गर्न नसकेको उनीहरूले बताएका थिए,” हुमागाईँले भने। कीटविज्ञ जोशीका भनाइमा सलह २० डिग्रीभन्दा कम तापक्रममा सलह बाँच्न नसक्ने भए पनि मुस्ताङ, हुम्ला र मुगु जिल्लाका विभिन्न खोँचहरूबाट तापक्रम बढेको बेला ती सलह तिब्बततर्फ प्रवेश गरेका हुनसक्छन्।
चिनियाँ अधिकारीसँग छलफलमा सहभागी अधिकारीहरूका अनुसार पनि सलहले आफ्नो अनुकूलता खोज्ने र त्यस कार्यमा सलहहरू निकै बाठा हुने गरेकाले खोँचबाट तिब्बत प्रवेश गरेको हुनसक्ने चिनियाँ पक्षले अनुमान गरेको छ।
सलह हावाको गतिविपरीत जान नसक्ने भएकाले हावाको गति तिब्बततर्फ सोझिएकाले पनि कतिपय सलह जीवितै तिब्बत पुगेको हुनसक्ने जोशी बताउँछन्।
-बिबिसी नेपालीको सहयोगमा