प्राधिकरणमा कुलमानलाई दोहोर्याउने कुरामा ओली सहमत !

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आगामी चारवर्षे कार्यकालका लागि पुन कुलमान घिसिङलाई जिम्मेवारी दिने सम्भावना बढ्दै गएको छ । घिसिङको कार्य कुशलता र पब्लिक सेन्टिमेन्टलाई मध्यनजर गर्दै उनकै कार्यकाललाई निरन्तरता दिनेगरी प्रस्ताव लैजाने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

चार वर्षअघि २९ भदौ २०७३ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा प्राधिकरण प्रवेश गरेका कुलमान घिसिङको कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्व चयनको विषयले सबैतिर व्यापक चर्चा पाएको छ । आगामी २९ भदौमा सकिन लागेको घिसिङको कार्यकाललाई लिएर सर्वसाधारण, कलाकारदेखि उनको पक्षमा रहेका नेता कार्यकर्ताले समेत घिसिङको कार्यकाल थप गर्नुपर्ने जोडदार माग गर्दै आएका छन् ।

यसैबीच ऊर्जामन्त्रालय पनि प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा सकारात्मक रहेको स्रोतले बताएको छ । यसअघि ऊर्जामन्त्री पुनको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भएको अनौपचारिक छलफलमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओलीसमेत सकारात्मक देखिएको बताइएको छ । त्यस्तै,नेकपाका अर्का अध्यक्षले पनि घिसिङको विकल्प नखोज्नुपर्ने पक्षमा रहेका छन् । जनतादेखि लिएर उच्च ओहोदाका व्यक्तिसमेत कुलमानको पक्षमा रहेकाले घिसिङलाई नै निरन्तरदिनुपर्ने पक्षमा रहेका कारण मन्त्रालयसमेत यो विषयमा सकारात्मक रहेको स्रोतले बतायो ।

दैनिक १८ घण्टाको लोडसेडिङ अन्त्य प्रमुख भूमिका निर्वाह गर्दै आम जनमानसमा लोकप्रिय बनेका घिसिङ आफैं एक कार्यकाल दो¥याउन चाहन्छन् । घिसिङले प्राधिकरणको ३५औं वार्षिकसाधारण सभामा प्रसारणलाइन, भारत र बंगलादेशमा विद्युत् बिक्रीलगायतका योजना कार्यान्वयनका लागि कार्यकाल थपको मनसाय राखेका थिए । केही दिन अघिदेखि सामाजिक सञ्जालमा पनि उनकै कार्यकाल दोहोर्याउनुपर्ने जोडदार माग हुँदै आएको छ ।

प्रकाशित : शनिबार, भदौ २०, २०७७०३:०५

ओलीले मन्त्रीहरुलाई स्पष्ट भनिदिए – ‘मन्त्रिपरिषद् पुनर्गठन हुँदैन, ढुक्कसँग काम गर्नु’