रुसमा परीक्षण गरिएको खोपले काम गर्ने देखियो !

एजेन्सी – रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्।


रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले बताएका हुन्।

रुसका वैज्ञानिकहरुले खोपको परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गरेका छन्। जसक्रममा उनीहरुले खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको दावी गरेका छन्।

खोपको परीक्षण जुन र जुलाइमा सुरु गएिको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको बीबीसीले जनाएको छ। उनीहरुलाई पहिलो पटक सो खोप दिएको तीन हप्ता पछि बुस्टर डोज अथवा दोस्रो खोप दिइएको थियो ।

उक्त परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका मानिसहरु सहभागी भएका थिए। उनीहरूलाई ४२ दिनसम्म निगरानी गरिएको थियो र सबैमा तीन साताभित्र एन्टीबडीको विकास भएको थियो। उनीहरूमा सामान्यतया टाउको र जोर्नी दुख्ने साझा खालको साइड इफेक्ट देखिएको थियो।

रुसका वैज्ञानिकहरुले गरेको परीक्षणको प्रतिवेदन मेडिकल जर्नल द लान्सेटमा प्रकाशित छ। जर्नलका अनुसार तेस्रो चरणको परीक्षणमा ‘फरक-फरक उमेर र जोखिम समूह’ बाट ४०,००० स्वयम्‌सेवक सहभागी हुनेछन्।

प्रकाशित : शनिबार, भदौ २०, २०७७०५:१९

डिउटीमै ढलेर बेहोस भएका प्रहरी जवानको मृ-त्यु !