आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? हेर्नुहोस् पूर्णविवरण !

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ । नौ दिनअघि कोरोना सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ रहेको थियो ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। आज थपिएका सङ्क्रमितमा पुरुष ६९० तथा महिला २९० छन् ।

हालसम्म २८ हजार ९४१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए। पछिल्लो २४ घण्टामा एक हजार ८१४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । कोरोना निको भएर घर फर्किनेको उक्त संख्या हालसम्मकै बढी हो । हालसम्म सात लाख ६८ हजार ३४५ को पिसीआर परीक्षण गरिएको छ ।

देशभर हाल १७४ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने २१ लाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए। वागमती प्रदेशमा १०९ जनाको अति सघन कक्षमा र २१ जनाको भेन्टिलेटरमा, प्रदेश नं १ मा नौ जनाको अति सघन कक्ष र तीन जनाको भेन्टिलेटरमा, प्रदेश नं २ मा २८ जनाको अति सघन कक्षमा, प्रदेश नं ५ मा २० जनाको अति सघन कक्ष र तीन जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा पाँच जनाको अति सघन कक्षमा तथा कर्णालीमा तीन सङ्क्रमितको अति सघन कक्षमा उपचार गरिँदै छ ।

हाल देशभर १७ हजार २७ सक्रिय सङ्क्रमित छन् । हाल सात हजार ८२६ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । प्रवक्ता गौतमका अनुसार सबैभन्दा बढी प्रदेश नं २ मा तीन हजार ५०० सङ्क्रमित होम आइसोलेसनमा छन् । यस्तै वागमती प्रदेशमा दुई हजार ३३६, प्रदेश नं ५ मा ९७८, प्रदेश नं १ मा ७४३, सुदूरपश्चिम प्रदेशमा १२६, गण्डकी प्रदेशमा १०० तथा कर्णालीमा ४३ कोरोना सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।

चौबीस घण्टामा कहाँ कहाँ कति भेटिए सङ्क्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नं १ को उदयपुर, ताप्लेजुङ, भोजपुर र ओखलढुंगामा एक–एक जना, झापामा २६, मोरङमा २९, संखुवासभामा छ तथा सुनसरीमा ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश नं २ को धनुषामा १०, पर्सामा २५, बारामा ७३, महोत्तरीमा तीन, रौतहटमा आठ, सप्तरीमा ११, सर्लाहीमा पाँच तथा सिरहामा छ जनामा कोरोना देखिएको छ । वागमती प्रदेशको काठमाडौँमा २९०, काभ्रेपलाञ्चोकमा एक, चितवनमा ३०, दोलखामा सात, धादिङमा १०, भक्तपुरमा ३२, ललितपुरमा ३२, सिन्धुपाल्चोकमा एक तथा सिन्धुलीमा दुई जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा पाँच, तनहुँमा सात, नवलपरासी पूर्वमा १२, लमजुङमा दुई, बागलुङमा तीन तथा स्याङ्जामा २२ जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नं ५ को अर्घाखाँचीमा ११, कपिलवस्तुमा चार, दाङमा तीन, नवलपरासीमा दुई, पाल्पामा १९, प्युठानमा चार, बर्दियामा छ, बाँकेमा छ र रुपन्देहीमा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।

यस्तै कर्णाली प्रदेशको कालिकोटमा एक, जाजरकोटमा दुई, जुम्लामा पाँच, दैलेखमा दुई र सुर्खेतमा ४४ जनालाई कोरोना सङ्क्रमण भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा तीन, कैलालीमा २१, अछाममा ११, डडेल्धुरामा दुई तथा बझाङमा १० जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा थपिए ३५४ कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ३५४ कोरोना सङ्क्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए। थपिएकामध्ये काठमाडौँका २९०, ललितपुरका ३२ तथा भक्तपुरका ३२ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या आठ हजार २५४ पुगेको छ । हालसम्म काठमाडौँमा छ हजार ६२४, ललितपुरमा ९१९ तथा भक्तपुरमा ७११ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

एकै दिन कोरोनाबाट नौको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका तीनसहित सात पुरुष तथा दुई महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २८९ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार काठमार्डौँमा ८५ वर्षीय, ७४ वर्षीय र ६८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा मोरङकी ६५ वर्षीया महिला र ४५ वर्षीय पुरुष, झापामा ४५ वर्षीया महिला, पर्सामा ७७ वर्षीय पुरुष, धनुषामा ३५ वर्षीय पुरुष तथा चितवनमा ७० वर्षीय पुरुष रहेका छन् ।

प्रकाशित : आइतबार, भदौ २१, २०७७१३:३५

नेपाली भूमी लिपुलेकमा भारतीय लडाकु बिमान, स्थानीय त्रसित !