काठमाडौँ – चीनसँग तनाव बढेपछि भारतले नेपालको कालापानी-लिपुलेक क्षेत्रमा सैन्य उपस्थिति बलियो बनाएको छ।
कालापानी-लिपुलेक क्षेत्रमा केहि महिना देखि लगातार सैन्यबल थपिरहेको भारतले चीनसँगको पछिल्लो तनाबसँगै सैन्य उपस्थित र गस्ती बढाएको हो। उक्त क्षेत्रमा उपस्थित बढाउन भारतीय सेना अध्यक्षले निर्देशन दिएसँगै सुरक्षा ब्यवस्था थप कडा बनाएको बताइएको छ।
बताइएअनुसार, भारतले कालापानीमा लडाकु विमानले समेत गस्ती गर्न थालेको छ। नेपाली भूभागसहित मिलम क्षेत्रमा उच्च सर्तकता अपनाइनुका साथै चीन सीमा नजिक भारतीय लडाकु बिमानले गस्ती गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय मिडियाहरुका अनुसार गत हप्ता देखि नै भारतीय लडाकु बिमानले त्यस क्षेत्रमा गस्ती गरिरहेको छ।
लिपुलेक पछि मिलम क्षेत्रमा पनि सुरक्षा बलको तैनाथी बढाइएको र लद्दाखमा चिनिया सैनिकहरुको घुसपैठ प्रयास पछि सुरक्षा संयन्त्रहरु विशेष सतर्कता अपनाइरहेको भारतीय दैनिक पत्रिका अमर उजालाको दावी छ।
गत महिना नै भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बनाएको थियो। तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको कालापानी क्षेत्रका नेपालीहरु बताउँछन्।
नेपाली आकासमा भारतका ठूला जेट र हेलिकप्टर देखिन थालेको स्थानीयहरुको भनाई छ। पाली बस्तीमाथि माथिल्लो कौवा क्षेत्रको आकाशमा सधैंजसो भारतका हेलिकप्टरको उडान भइरहेको स्थानियहरुले बताएका छन्।