काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न उपत्यकामा दसैंसम्म निषेधाज्ञा कायम गरेर नाकामा सेना परिचालन गर्नुपर्ने राय दिएका हुन् ।
बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने सुझाव दिए । विभिन्न बहानामा मानिस उपत्यका भित्रने क्रम नरोकिएको र चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई भिœयाउनु परिरहेको भन्दै उनले नाका नै ठप्प पार्न नसकिएको बताए ।
‘चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई उपत्यका भिœयाउनुपरिरहेको छ, नाका नै ठप्प पार्न सकिने अवस्था पनि छैन । विभिन्न ढुवानीका साधनमार्फत मानिस आवतजावत भइराखेका छन्, त्यसलाई कडाइ गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखियो,’ बैठकमा धारणा राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले भने ।
उनले काठमाडौंका लागि आवश्यक पर्ने ग्याँस, खाद्यान्नलगायतका सामान बाहिरबाट आउने हुँदा नाका ठप्प पार्न नसकिएको स्विकार गरे । दाहालले डीडीएमसीबाट सेना परिचालनबारे निर्णय गरेर पठाइएको तर सीसीएमसीमा त्यो कुराको सुनुवाइ नभएको हो कि भन्दै गुनासोसमेत गरे ।
बैठकमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरूबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन् ।