साँगामा खटिएका ८ सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि !

काठमाडौँ – काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका साँगाको सिमानामा खटिएका आधा दर्जन भन्दा बढी सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। केही दिन अगाडी केहि प्रहरीमा कोरोनाको पुष्टि भएपछि गरिएको परीक्षणबाट थप ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

यस अगाडी भदौ १८ गते साँगामा खटिएका दुई प्रहरीमा कोरोनाको पुष्टि भएको थियो। मंगलबार काभ्रेमा थपिएका १० जना कोरोना संक्रमित मध्ये ८ जना सुरक्षाकर्मी रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताए। लक्षण देखिएका दुई र लक्षण नदेखिएका ६ जनालाई परिक्षण गरी उपचारका लागि आईसोलेसनमा राखिएको छ।

थप पुष्टिसँगै काभ्रे जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ३ सय २९ पुगेको छ । जस मध्ये ४० जना सुरक्षाकर्मी रहेका छन्। काभ्रेमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तीनै निकायका सुरक्षाकर्मीमा कोरोना देखिएको छ।

संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत १९ प्रहरी कर्मचारी, जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत ३ प्रहरी कर्मचारी, नेपाली सेनामा कार्यरत ८ जना सैनीक र सशस्त्र प्रहरीमा कार्यरत १० जना प्रहरी गरी ४० जना सुरक्षाकर्मी संक्रमित रहेका छन्।

यस्तै काभ्रेमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या पनि उच्च रहेको छ। मंगलबारसम्म जिल्लामा ६६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत १७ जना, शिर मेमोरियल अस्पतालमा कार्यरत ११ जना, धुलिखेल अस्पतालमा कार्यरत ३५ जना, भुम्लु गाउँपालिका १, पनौती नगरपालिका १, बनेपा नगरपालिका १ जना स्वास्थ्यकर्मी गरी ६६ जना स्वास्थ्यकर्मीमा कोरोनाको पुष्टि भएको बताइएको छ।

प्रकाशित : मङ्गलबार, भदौ २३, २०७७०९:५८

दरबार हाइस्कूलको भवन हस्तान्तरण