उपप्रधानमन्त्री पोखरेल भन्छन् – “कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प छैन”

काठमाडौँ – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँगै रहेर जिउन सिक्नु पर्ने बताएका छन्। उपत्यकाका प्रतिनिधिसभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताएका हुन्।

“एउटा शब्द छ नी अहिले प्रचलनमा ‘लिभिङ टुगेदर’ । अब कुरा के हो भने हामीले महामारीसँग होस् पुर्याएर जुध्दै अस्तित्व कायम राख्नु बुद्धिमानी हुन्छ ।”,उनले भने ।

कोरोनाबाट बच्न सबैले सामाजिक व्यवहारमा सुधार ल्याउनुपर्ने उनको भनाई छ। आफू सुरक्षित भएर अरुलाई पनि सुरक्षित बनाउने गरी सामाजिक चेतना बढाए मात्रै कोरोनाबाट बच्न सकिने उनले बताए।

“अरु उपायतिर जान उचित हुँदैन । निश्चित मापदण्ड प्रयोग गर्दै सामाजिक व्यवहारमा सुधार ल्याउनुपर्छ । आफू सुरक्षित भएर अरुलाई पनि सुरक्षित बनाउने गरी सामाजिक चेतना बढाउनुपर्छ ।”,उनले भने। लकडाउन खुकुलो भएपछि उपत्यकामा बढेको आवतजावतले कोरोना भाइरस संक्रमण बढाएको उनको भनाई छ।

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेललाई सांसदहरुले उपत्यका बाहिरबाट आउनेहरुको उचित व्यवस्थापनमा जुट्न आग्रह गरे। साथै सांसदहरुले जनता रोगले भन्दा पनि भोकले मर्न लागेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह पनि गरे।

प्रकाशित : मङ्गलबार, भदौ २३, २०७७१३:१५

“नाकामा सेना खटाएर उपत्यका भित्रको जनजीवन खुकुलो बनाउन बनाऔं”