भोको पेटमा मलम लगाउँदै ‘ हन्ड्रेड समूह’

काठमाडौँ – केही समयअघिसम्म खुलामञ्च जनताको गास, बास र कपासको नारा दिइने क्रान्तिकारी थलोका रुपमा परिचित थियो। मञ्चमा बसेर रोजीरोटीको ग्यारेन्टी गर्ने नेताहरु यति बेला सत्तामा छन्। तर सधै यही मञ्चबाट क्रान्तिकारी भाषण सुन्दै आएका रामेछाप दोरम्बाका ४६ वर्षीय गणेश श्रेष्ठ मंगलबार साँझ भने एक छाक खाना खान यही मञ्चमा लामबद्ध थिए। भारी बोक्ने उनी एकछाक खाना खान लाममा बस्नुपर्दा उदास देखिन्थे। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

श्रेष्ठले राजधानी काठमाडौं आएर पसिना बगाउन थालेको डेढ दशकभन्दा बढी भइसक्यो। दशकभन्दा बढी पसिना बगाएको यही सहरमा अहिले उनलाई एक पेट भर्न कठिन भएको छ। ‘भाषणले हैन, भातले पो पेट भरिन्छ’, सामाजिक संस्था ‘हन्ड्रेड समूह’ ले बाड्दै गरेको दालभात हातमा लिएका उनले भने, ‘एक सय किलो बोराको चामल उचाल्ने ज्यान अहिले एकछाक खाना पनि जुटाउन नसक्ने अवस्थामा पुगेको छ।’

श्रेष्ठसँगै एकछाक खान लाममा बसेका महेश कटुवालको अवस्था पनि पीडादायी छ। भारी बोक्ने उनी पनि राजधानी काठमाडौं सहरमा आएर काम गर्न थालेको दुई दशकभन्दा बढी भइसक्यो। यहाँ उनले हरेक सामानको बोझ उठाए। तर यतिबेला कोरोनाको बोझ उठाउन नसक्ने अवस्थामा पुगेको उनी सुनाउँछन्।

‘ठूला कुरा गरेर सरकारमा गएका नेताले गरिबको पेट भर्न सकेनन्,’ उनले भने, ‘पसिना बगाउने मजदुरले एक छाक राम्रोसँग खान नपाउनु निकै पीडादायक अवस्था हो।’

श्रेष्ठले जस्तै उनले पनि विभिन्न समयमा यसै मञ्चअघि बसेर नेताका भाषण सुने। थुप्रै नेताले गास, बास र कपासको भाषण दिए तर यतिबेला उनी भोकभोकै बस्न बाध्य छन्। नाराले हैन, खानाले पेट भरिने उनको भनाइ छ। ‘ठूला कुरा गरेर सरकारमा गएका नेताले गरिबको पेट भर्न सकेनन्,’ उनले भने, ‘पसिना बगाउने मजदुरले एक छाक राम्रोसँग खान नपाउनु निकै पीडादायक अवस्था हो।’

कोभिड–१९ को जोखिम रोक्न चैत चैत ११ मा लगाइएको बन्दाबन्दी साउन ६ गते हटेपछि बिस्तारै कामको खोजीमा लागेका श्रेष्ठ, कटुवालजस्तै असंगठित मजदुर फेरि भदौ ४ गते जारी निषेधाज्ञाका कारण बिजोकमा परेका छन्। एकछाक खाना जुटाउन पनि उनीहरूलाई सकस भएको छ।

प्रकाशित : बुधबार, भदौ २४, २०७७०४:१३

असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने !