उपत्यकामा अहिले सम्मकै धेरै संक्रमित भेटिए, मुलुकभर संक्रमितको सङ्ख्या ५० हजार नाघ्यो !

बिहिबार काठमाडौँ उपत्यकामा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट अहिले सम्मकै बढी व्यक्तिमा कोरोनाको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाइएकै दिन संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, मुलुकभरमा पछिल्लो २४ घण्टामा १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। यससँगै देशभर कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ। गौतमका अनुसार आजसम्ममा कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ छ। यसैबीच कोरोनाबाट थप ५ जनाको मृ-त्यु भएको छ। यससँगै कोरोनाबाट मृ-त्यु हुनेको कुल संख्या ३१७ पुगेको छ।

प्रकाशित : बिहिबार, भदौ २५, २०७७११:३८

थप १७ प्रहरी कोरोना सङ्क्रमित !