एथलेटीको म्याड्रिड जान स्वारेज इच्छुक !

एजेन्सी – पछिल्लो केहि हप्ता देखि लुइस स्वारेज लगातार चर्चामा छन्। बार्सिलोना क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजलाई राख्न नचाहेको खुलासा भएसँगै उनी कता जाने हुन् भन्ने कुरामा धेरैको चासो छ।

स्वारेजलाई लिएर विश्वका ठूला क्लबहरुले चासो राखिरहेको अवस्था छ। उनको नाम युभेन्टस, डच क्लब अजाक्स र इन्टर मियामी जस्ता क्लबसँग जोडिएको छ। ती मध्ये युभेन्टससँग स्वारेजको सम्झौता हुने सम्भावना बढी रहेको बताइन्छ।

केहि दिन अगाडी उनी युभेन्टस जाने लगभग पक्का जस्तै भएको समाचारहरु बाहिरिएको थियो। तर, अहिले उनी स्पेनमै रहन चाहेको भन्ने खबर बाहिरिएको छ।

केहि स्पेनिस पत्रिकाहरुका अनुसार उनले युभेन्टस जाने प्रक्रियालाई केहि समय रोकेका छन्। स्पेनिस क्लब एथलेटीको म्याड्रिडले स्वारेज बारे चासो देखाएपछि उनले युभेन्टस जाने प्रक्रियालाई रोकेको बताइन्छ। एथलेटीकोका अल्वारो मोराटा र डिएगो कोस्टाले क्लब छाड्न चाहेको हुँदा उनीहरुको ठाउँमा क्लबले स्वारेज ल्याउन खोजेको स्पेनिस पत्रिकाहरुको दावी छ।

स्वारेज करिब ६ वर्ष देखि स्पेनमा छन्। उनको परिवार पनि धेरै समय देखि स्पेनमा छ। स्पेन छाडेर अन्यत्र बस्न उनलाई सहज हुने छैन। यहि कारणले गर्दा उनी स्पेनमै रहन चाहेको बताइन्छ।

यस्तै स्वारेजलाई लिएर क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यान पनि पछिल्लो समय सकारात्मक हुँदै गएको बताउन थालिएको छ। आउने सिजन स्वारेजलाई लिएर कुनै नयाँ योजना नबनाए पनि कोम्यान स्वारेजलाई सिमित भूमिकामा राख्न सक्छन्।

प्रकाशित : शुक्रबार, भदौ २६, २०७७०७:५७

जब मेस्सी स्पेनको टोलीबाट खेल्न निकै नजिक थिए …