काठमाडौँ – नेपालमा शुक्रबार अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। गएको २४ घण्टामा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका हुन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५१ हजार ९१९ जना पुगेको छ।
यो नेपालमा एकै दिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो। यस भन्दा अगाडी सबै भन्दा धेरै गत हप्ताको शुक्रबार संक्रमित फेला परेका थिए। त्यस दिन नेपालमा १ हजार ३ सय ५९ जना संक्रमित फेला परेका थिए।
काठमाडौँ उपत्यकामा पनि अहिले सम्मकै बढी
आज उपत्यकामा पनि अहिले सम्मकै बढी संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा ६ सय ९६ संक्रमित फेला परेका छन्।
काठमाडौँ जिल्लामा मात्रै आज ६ सय २० संक्रमित फेला परेका छन्। यस्तै बितेको २४ घण्टामा भक्तपुर र ललितपुरमा ३८-३८ संक्रमित फेला परेका छन्।
पछिल्लो २४ घन्टामा थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३६ हजार ६७२ उपचारपछि निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ। ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा छन्। १० हजार ७ सय जनाको आज पिसिआर परीक्षण भएको छ। ६ हजार ७८ जना क्वारेन्टाइनमा छन्।