भोकले भौँतारिँदा ‘तातो भात’

विराटनगर,‘भोकभोकै दिन–रात बिताएँ, यो पीडा कसरी भन्न सकुँला र ? यस्तो बेला खाना खुवाएर हाम्रो ज्यान बचाइदिनुुभयो । धन्य, यो गुन बिर्सन सकिन्न ।’ यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

कोरोना कहरले बन्द सहरका रित्ता सडकमा भोकले भौँतारिएका बेला स्वादिष्ट भोजन पाएपछि विराटनगरका गणेश थापाले निकै हर्षित हुँदै यस्तै प्रतिक्रिया व्यक्त गर्नुभयो । स्थानीय क्याटरिङमा ज्यालादारी गर्दै आउनुभएका थापा जस्तै भोकले छट्पटाउनुभएका दिलीप चौधरीले पनि भोक लागेको बेला भोजन पाउनु पनि भगवान् आए जस्तै भयो भन्नुभयो ।

बसपार्कमा भारी बोकेर त कहिले प्लास्टिक टिपेर पेट पाल्दै आउनुभएका चौधरी जस्तै सडकमा जीवन र रोजगारी खोज्नेलाई भोकमा राहत लिएर उपस्थित थिए, विराटनगरका केही जागरुक र उत्साही युवा ।

दैनिक ज्यालादारीबाट भएको आम्दानीले छाक टार्ने समुदाय कोरोना (कोभिड–१९) महामारीमा सबैभन्दा बढी पीडित बन्न पुगेका छन् । कोरोनाको कहर, बन्द सहर, रोजगार गुमेका मजदुर, दान लिएर ज्यान पाल्ने समुदाय यत्रतत्र भोकले सडकमा छट्पटाएको अवस्था देखेपछि विराटनगरका केही युवा सामाजिक सञ्जालमा जुटे, ‘निःशुल्क खाना खुवाउने टिम’ मार्फत ।

समूहका युवाले आफ्नै प्रयासमा खाना अभियान थालेका थिए । समूूहका संयोजक ओसिम आलमका अनुसार सुरुका दिनमा समूहका सदस्यले मिलेर दैनिक बिहान–बेलुका गरी करिब ४५० जनालाई निःशुल्क खाना खुवाउन थालिएको थियो । समूूहले सडकमा मात्र होइन टोलटोलमा पुगी भोका व्यक्तिको खोजी गरेको थियो । उद्देश्य थियो, ‘भोकै कोही नपरून्, भोकले कोही नमरून् ।’

विशेषगरी बजार क्षेत्रका पसल, सडक र मठमन्दिरमा बसेर दान लिने, प्लास्टिक र खाली सीसी सङ्कलक, अपाङ्गता भएका व्यक्ति, सार्वजनिक यातायात मजदुरलाई लक्षित गरी निःशुल्क खाना अभियान थालिएको संयोजक आलमले बताउनुभयो ।

त्यसबाहेक विराटनगर क्षेत्रमा डेरा गरी बसेका १६४ विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र बन्दाबन्दीपछि घर फर्किन नपाएर अलपत्र परेका झन्डै ७० भारतीय मजदुरलाई समेत यस समूहले खाने, बस्ने व्यवस्थासहित खाना खुवाएको थियो । निःशुल्क खाना अभियानमा सामाजिक सञ्जालबाटै सहयोग जुट्न थाल्यो । मनकारी व्यक्ति सञ्जालमा जोडिँदै जाँदा अभियान निरन्तर चलाउन सजिलो भएको समूहका सदस्य पप्पु अन्सारी बताउनुहुन्छ ।

निःशुल्क खाना खुवाउने अभियानभरि मोरङ जिल्ला कटहरी गाउँपालिका–४ का किसान कोपिन्द्र सिंहले निःशुल्क तरकारी धानिदिनुभएको थियो । त्यस्तै देशविदेशबाट पनि सहयोग जुटिरहेको थियो । संयोजक आलमका अनुसार सहयोग जुट्न थालेपछि अभियान पारदर्शी बनाउन फेसबुक पेजबाट दाताको नाम र सहयोग रकमसमेत सार्वजनिक गर्न थालियो । समूूहका सदस्य दीपा दर्नालका अनुसार समूूहले सरकारी तथा गैरसरकारी संस्थाबाट अहिलेसम्म सहयोग लिएन । केही दिन खाना खुवाउने काम गरौँ भनेर सुरु गरिएको अभियानले सामाजिक सञ्जालमा ‘ग्रेट जब’ भन्दै देश विदेशबाट सन्देश आउन थालेपछि र स्थानीय सञ्चार माध्यमले समेत सकारात्मक साथ दिएपछि अझ उत्साहित भएर अभियानमा लागिएको संयोजक आलमले बताउनुभयो ।

हिले अभियान एक सय दिनबाट अगाडि बढिसकेको छ । निषेधाज्ञाको स्वरूप परिवर्तन हुँदै जाँदा खाना अभियानको स्वरूप र शैली पनि परिवर्तन गर्दै लैजाने योजना अभियानकर्मीको छ । उहाँहरूको उत्साह अझ बढ्दो छ, जब पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिडियो कल’ गरेर अभियानकर्मीलाई बधाई दिनुुभयो, ‘आहा ! गज्जब काम गर्नुभयो । ’

प्रकाशित : शनिबार, भदौ २७, २०७७०२:२४

समन्वयमा असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने