जगदम्बाले बदमासी स्वीकार्यो, छड बिक्रीमा रोक !

काठमाडौं – फलामे छडलगायतका निर्माण सामग्रीको उपभोक्ता जगदम्बा ग्रुपले उसका उत्पादन परीक्षणमा गुणस्तरहीन प्रमाणित भएपछि ‘दक्ष प्राविधिकको अभावमा गल्ती भयो’ भनेको छ । गुणस्तर तथा नापतौल विभागको कारबाही स्वीकार गर्दै उसले यस प्रकारको प्रतिक्रिया दिएको विभाग स्रोतले उल्लेख गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

‘कालोबजारी गर्छ र स्वीकार्छ, कमसल डन्डी पटक–पटक बिक्री गर्छ र गल्ती भयो भन्छ’, एक स्वतन्त्र बजार विश्लेषकले नेपाल समाचारपत्रलाई भने– ‘यस्ता व्यापारीमाथि नेपालमा कुनै कारबाही हुँदैन, सबै पैसामा बिकेका छन्, सायद शंकर गु्रप यही विश्वासका साथ निरन्तर उपभोक्तामाथि खेलबाड गरिरहेको छ ।’

व्यावसायिक घराना शंकर ग्रुप देशमा कोरोनाको महामारी चलेका बेला स्वास्थ्य उपकरण कालोबजारी गरेको प्रमाणित भएदेखि नै खराब व्यवसायीका रुपमा बदनाम हुनपुगेको छ । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल स्वास्थ्य सामग्री कालोबजारी गरेको अभियोगमा पक्राउ परी धरौटीमा छुटेलगत्तै कमसल निर्माण सामग्री उत्पादन गरेको आरोपमा कारबाहीमा परेपछि खराब व्यवसायीको बदनामी बोक्न यो समूह बाध्य भएको हो ।

कूटनीतिक सुविधा दुरुपयोग गर्दै स्वास्थ्य उपकरण कालोबजारी गर्दा प्रहरीको ‘स्टिङ अपरेसन’मा रङ्गेहात पक्राउ परेका सो ग्रुपका सञ्चालक अग्रवालले त्यतिबेला अनुसन्धान अधिकारीसँग ‘म अर्बपति मान्छे, दुई/चार लाखमा लोभ गर्दा फसें’ भन्दै रोई–कराई गरेका थिए । कोरोना कहर भर्खर शुरू हुँदै गर्दा मानवीय संवेदनामाथि खेलवाड गर्न पुगेका अग्रवालप्रति केहीले सहानुभूतिसमेत देखाए । परिमाणस्वरुप उनी धरौटीमा छुट्न पुगे ।

तर, अदालत परिसरबाटै उनीमाथि छानबिन गर्न सम्पत्ति शुद्धीकरणले पक्राउ गरेको थियो । त्यतिखेरसम्म अग्रवालमाथि कारबाही अलि बढी नै भएको हो कि भन्ने जमात यतिखेर पश्चात्ताप गर्दै छ, किनकि अग्रवाल र शंकर ग्रुप उक्त कारबाहीपछि सुध्रिएन अझै अवैध काम गर्न उद्यत बन्दै गएको पाइएको छ ।

खरिद मूल्यभन्दा कयौं गुणा बढीमा सामान बिक्री गरेको, कर छली गरी सम्पत्ति आर्जन गरेको जस्तो घटना होइन, त्यसभन्दा भयंकर ठूलो लाखौं मानिसको जीवन र सम्पत्तिमाथि खेलबाड गर्दै कमसल निर्माण सामग्री उत्पादन एवम् बिक्री गरेको अभियोग सो समूहमाथि लागेको छ । अभियोग प्रमाणित भएपछि नापतौल तथा गुणस्तर विभागले कारबाहीसमेत गरेको स्थितिमा अग्रवाल परिवार सर्वसाधारणको जिन्दगीसंग कसरी खेलबाड गर्दो रहेछ भन्ने विषय उदाङ्गो भएको छ ।

प्राप्त जानकारीअनुसार उक्त समूहको जगदम्बा स्टिल कम्पनीले गुणस्तरहीन रड (छड) उत्पादन गरेको पाइएपछि विभागले सो कम्पनीलाई छड उत्पादनमा रोक लगाएको छ । कम्पनीले १६ एमएमको टीएमटी बार फी ५०० रड उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरहीन उत्पादन गरेको भेटिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । जगदम्बाका रड पिटिपिटी भाँचिने गरेको सानोभ-याङस्थित श्रीकृष्ण भट्टराईको गुनासो आएपछि विभागले प्रयोगशालामा परीक्षण गर्दा जगदम्बाको छड गुणस्तरहीन रहेको पाइएको थियो ।

प्रकाशित : सोमबार, भदौ २९, २०७७०३:३५

लगातार बढ्दै राष्ट्रिय ऋण, हरेक नेपालीको थाप्लोमा छ यति ऋण !