काठमाडौँ – डा.गोविन्द केसी आइतबार देखि अनशनरत छन्। चिकित्सा शिक्षामा सुधार सहित कोरोना भाइरस संक्रमण र त्यसले जनतामा पारेको मार बारे गम्भीर बन्न सरकारलाई दबाव दिन उनी जुम्ला चन्दननाथ नगरपालिका-६ रानिचौरमा रहेको बाबिरा मष्टोको (थान) मन्दिर परिसरमा अनशन बसेका हुन्। उनको यो १९ औँ सत्याग्रह हो।
अनशन बसेपनि उनले बिरामी जाँच्न भने छाडेका छैनन्। जुम्ला चन्दननाथ नगरपालिका-६ रानिचौरमा रहेको बाबिरा मष्टोको (थान) मन्दिर परिसरमै उनी बिरामी जाँच्ने काम गरिरहेका छन्। केसी मन्दिरमा अनशन बसेको थाहा पाएपछि आफ्नो स्वास्थ्य समस्या देखाउन स्थानीयवासी अनशनस्थलमै पुग्ने गरेका छन्।
दुर्गमका जनताले स्वास्थ्य सेवा नपाउने अवस्थाबाट जुनै पनि हालतमा छुटकारा पाइनुपर्ने उनको भनाई छ। देशका सम्पूर्ण जनताको स्वास्थ्य सेवामा समान पहुँच हुनुपर्ने उनी बताउँछन्। आफ्ना माग पूरा नभए सम्म कुनै पनि हालतमा अनशन नतोड्ने उनले बताए।
“कुनै पनि हालतमा अनशन तोड्दिन। माग पुरा नभए बरु मर्न तयार छु। मेरो अन्तिम सास रहुन्जेल अनशनमै बिरामीको सेवा गर्छु।”,उनले भने,”पहिलाका सत्याग्रहका बेला गरिएका सम्झौता अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले फेरि अनशन बस्न बाध्य भएको हुँ।”
डाक्टर केसीका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनुपर्ने लगायतका माग छन्।