काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थपिनुपर्ने मागका बीच उनको औपचारिक बिदाई भएको छ। सरकारले उनको कर्यकाम थप्ने कुनै पनि प्रक्रिया अगाडी नबढाएसँगै उनी बिदा भए।
कुलमानको पक्षमा सर्वत्र आवाज पनि उठ्यो। सर्वसाधारण, कलाकार देखि विभिन्न राजनीतिक दलका नेताहरुले पनि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै दोहोर्याउन माग गरे।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको पुनर्नियुक्ति गर्छ भन्ने धेरैले सोचेका थिए। बताइएअनुसार उर्जा मन्त्री वर्षमान पुनले कुलमानको सम्बन्धमा प्रस्ताव पनि प्रस्तुत गर्ने तयारी गरेका थिए। तर, प्रधानमन्त्री ओलीले कानुनी प्रश्न उठाएपछि उक्त प्रस्ताव बैठकमा प्रस्तुत नै भएन।
यसरी कुलमानको पुनर्नियुक्ति तत्काल नहुने देखिएसँगै मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरे। जनस्तरबाट कुलमानको पक्षका मात्र आवाज उठेको छैन, कलाकारहरुले पनि बलियो आवाज उठाइरहेका छन्।
यसै बीच चर्चित हाँस्यकलाकार दिपक राज गिरीले आफन्तको प्रेसरमा थुप्रै नियुक्तिहरू गर्न हुने, तर जनताको प्रेसरमा कुलमानको नियुक्ति गर्न नहुने भनेर प्रश्न गरेका छन्। गिरीले सामाजिक संजाल मार्फत यस्तो प्रश्न गरेका हुन्।
“१)सरकारी तर्क – कर्मचारि नियुक्ति जस्तो कुरा पनि जनताको प्रेसरमा गर्ने हो? २)जनताको तर्क- आफन्तको प्रेसरमा थुप्रै नियुक्तिहरू गरीएकै छ , कुलमानको नियुक्ति लाइ चाहि प्रेसरको रूपमा नलिइ जन चाहनाको रूपमा लिदॉ के बिग्रियो?”,गिरीले फेसबुकमा लेखेका छन्।