प्याजको भाउ बढ्दा ट्रक नै हराए, खुद्रा व्यापारीले मूल्य ५५ देखि ८५ सम्म बढाए !

काठमाडौँ, भारत सरकारले प्याज निर्यातमा रोक लगाएसँगै यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । भारतले नेपालमा प्याज निर्यात गर्न रोक लगाएकै भोलिपल्ट नेपाली बजारमा प्रतिकेजी प्याजको मूल्य अघिल्लो दिनभन्दा थोकमै ४० रुपियाँसम्म बढेको छ । खुद्रा बजारमा त प्याजको अभाव नै हुन थालेको छ । खुद्रा व्यापारीले सोमबार प्रतिकेजी ६५ रुपियाँमा बिक्री गरेको प्याज मङ्गलबार १२० देखि १५० रुपियाँसम्म बिक्री गरेका छन् । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

भित्रिन छाडे गाडी

सोमबार मात्रै ६२ टन प्याज भित्रिएको कालीमाटी बजारमा मङ्गलबार प्याज नै आएन । भारतबाट प्याज बोकेर नेपाल भित्रिएका गाडी कहाँ गए ? यस विषयमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति पनि जानकार छैन । सोमबार साझ प्याज बोकेर नेपाल भित्रिएका गाडी बजार आउनुपर्नेमा मङ्गलबार साँझसम्म पनि आएका छैनन् । त्यस विषयमा व्यापारीसँग सोधपुछ गरिरहेको समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताउनुभयो ।

समितिका अनुसार कालीमाटीमा ८२ वटा आलु र प्याजका थोक व्यापारी रहेका छन् । समितिका प्रवक्ता विनय श्रेष्ठले कालीमाटीमा गत साउनदेखि सोमबारसम्म औसतमा दैनिक ६२ टन प्याज भारतबाट भित्रिएको बताउनुुभयो । कालीमाटी बजारमा रहेको मौज्दात प्याजले मुस्किलले दुई दिन थेग्न सके पनि त्योभन्दा बढी थेग्न नसक्ने भन्दै उहाँले भन्नुभयो, “यहाँको बजारभित्र प्याज, आलु वा अन्य तरकारीको स्टोर गर्नलाई त्यति धेरै ठाउँ छैन । बजारभन्दा बाहिर राखेको कुरालाई त हामीले भन्नसक्ने अवस्था हुँदैन । ”

भारतमै निर्भर

नेपालमा खपत हुनेमध्ये जम्मा २ प्रतिशत प्याज मात्रै स्वदेशमा उत्पादन हुन्छ र बाँकी ९८ प्रतिशत भारतबाट आयात हुने गरेको बताइएको छ । काठमाडौँ उपत्यकामा भित्रिने प्याजको सबै माग भारतले धान्दै आएको छ ।

आकस्मिक अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि कालीमाटीस्थित प्याज गोदाममा आकस्मिक अनुगमन गरेको छ । विभागको अनुगमन टोलीले मङ्गलबार कालीमाटीस्थित प्याजका थोक बजार र भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो । अनुगमनका क्रममा सोमबारको तुलनामा मङ्गलबार प्याजको मूल्य प्रतिकेजीमा ३० देखि ४० रुपियाँसम्म बढाएर बिक्री गरेको भेटिएको विभागका अनुगमन दिर्नेशक सागर मिश्रले जानकारी दिनुभयो । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६÷७७ मा करिब पाँच अर्ब रुपियाँभन्दा बढीको प्याज आयात भएको थियो । कालीमाटी बजारमा चालू आर्थिक वर्षमा तीन हजार ८०२ मेट्रिक टन प्याज भित्रिएकामा तीन हजार ७९९ मेट्रिक टन भारतबाट भित्रिएको छ भने तीन मेट्रिक टन मात्रै आन्तरिक उत्पादन आएको देखिन्छ ।

प्रकाशित : बुधबार, भदौ ३१, २०७७०३:०२

भोलिदेखि सञ्चालन हुँदै सार्वजनिक यातायात र हवाई सेवा !