एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले लियोनेल मेस्सीसँग आफ्नो सम्बन्ध धेरै नै राम्रो रहेको बताएका छन्। एक खेल च्यानलसँग कुराकानी गर्नेक्रममा कोम्यानले लियोनेल मेस्सीसँग आफ्नो कुनै पनि मतभेद नरहेको र सम्बन्ध राम्रो रहेको बताएका हुन्।
मेस्सीले बार्सिलोना छाड्न खोजेको विषय बारे टिप्पणी गर्दै उनले उक्त विषय नितान्त क्लब र मेस्सी बीच रहेको बताए। त्यसले आफू र मेस्सीको सम्बन्धमा खासै असर नपारेको उनको भनाई छ। मेस्सीले कलाबमै बस्ने निर्णय गरेसँगै आफूहरु बीच धेरै पटक कुराकानी भइसकेको उनले बताए।
“वास्तविक रुपमै त्यो मेस्सी र क्लब बीचको लफडा थियो। यथोचितै त्यो अन्त्य भएको छ। त्यसले म र मेस्सी बीचको सम्बन्ध बिग्रिएको छैन। र त्यो पछि सम्मै जारी रहनेछ।”,एक च्यानलसँग कुराकानी गर्दै उनले भने। नयाँ सिजनमा बलियो प्रदर्शन गर्न आफूहरु तयारी गरिरहेको उनले जानकारी पनि गराए।
क्लबमा व्यापक परिवर्तनको आवश्यकता देखिरहेका कोम्यानले क्लबमा क्रमिक सुधार ल्याउने योजना बनाएका छन्। क्लबको उपेक्षामा परेका ब्राजिलियन मिडफिल्डर फिलिप्पे काउटिन्होलाई पनि उचित ठाउँ दिने उनको योजना छ।
डच टोलीको मुख्य प्रशिक्षक समेत रहेका ५७ वर्षीय कोम्यानले बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेका छन् । कोम्यान यसअघि १९९८–२००० मा बार्सिलोनाको सहायक प्रशिक्षक समेत बनेका थिए ।