यहाँ कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । भुसालडाँडामा स्थापित आइसोलेशनमा रहेका तानसेन नगरपालिका –७ का ५२ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
अत्यधिक मदिरा सेवनले कलेजोमा समस्या देखिएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएका ती बिरामीलाई कोरोना देखिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गत भदौ २९ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।
म्याग्दी कोरोनामुक्त जिल्ला: म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।
एक महिनाअघि पनि म्याग्दी कोराना सङ्क्रमणमुक्त जिल्ला बनेको थियो तर सरुवा भएर आएका एक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि पुनः कोरोना सङ्क्रमणयुक्त जिल्ला भएको थियो । सङ्क्रमित प्रहरीको पिसिआर परीक्षणको नतिजामा बुधबार नेगेटिभ आएपछि म्याग्दी पुनः कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ ।
प्रजिअ अधिकारीका अनुसार आइसोलेसनमा रहेका एक मात्र सङ्क्रमित प्रहरी जवानको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएकाले यो जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो । समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन म्याग्दीमा उच्च सतकर्ता अपनाइएको छ ।