कुलमानको आग्रह – ‘सडकमा नउत्रिदिनु होला’

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका निवर्तामान कार्यकारी निर्देशक कुलमान घिसिङले सडकमा भिडभाड गरी आफ्नो पक्षमा प्रदर्शन नगर्न आग्रह गरेका छन् ।

घिसिङको समर्थनमा राजधानीक विभिन्न स्थानमा केहि दिन देखि लगातार प्रदर्शन भएपछि घिसिङले एक विज्ञप्ति जारी गर्दै आफ्नो पुनर्नियुक्तिको लागि सडकमा प्रदर्शन नगरिदिन सर्बसाधरणलाई आग्रह हुन्।

प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने उनको भनाई छ। कोरोना महामारीको संवेदनशील अवस्था रहेको तर्फ पनि ध्यान दिन उनको सबैलाई आग्रह छ।

“विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु।”,एक विज्ञप्ति जारी गर्दै घिसिङले आग्रह गरेका छन्।

सरकाले आफूलाई कार्यकारी निर्देशक नियुक्ति गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र कार्यकारी निर्देशक नियुक्ति गर्ने सम्पूर्ण अधिकार सरकारलाई भएको भन्दै उनले धैर्य राख्न सबैमा आग्रह गरेका छन्।

“नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु। प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नैपर्छ। प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ।”, घिसिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : शनिबार, असोज ०३, २०७७०७:३८

ओलीले भने – ‘भ्रष्टाचारी बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिन’