काठमाडौँ – आइतबार देखि अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। यस भन्दा अगाडी पनि पटक-पटक अनशन बसिसकेका केसीको स्वास्थ्य अवस्था पछिल्ला केहि दिन देखि गम्भीर बन्दै गएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलका अनुसार डा. केसीको शरीर क्रमिक रुपमा कमजोर बन्दै गएका छन्। डाक्टर केसीलाई चक्कर लाग्ने, मांसपेशी बाउँडिने, मुटुको चाल घटबढ हुने जस्ता समस्या देखिएको उनले बताए।
रक्तचाप कम, रगतमा चिनीको मात्रा कम देखिएका केसीले नशाबाट सलाइन लिन मानेका छैनन्। जुम्ला चन्दननाथ नगरपालिका-६ रानिचौरमा रहेको बाबिरा मष्टोको (थान) मन्दिर परिसरबाट उनलाई अस्पताल सार्न खोजिएपनि उनले मानेका छैनन्।
आफूहरुले अस्पताल जान आग्रह गरेपनि केसीले नमानेको उनले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केसीलाई राख्न आइसियू कक्ष समेत तयार पारिएपनि उनले मानिरहेका छैनन्।
केसीलाई अस्पताल सार्ने प्रयास र आग्रह गरिएपनि आफ्नो माग पूरा नभएसम्म कतै पनि नजाने अडान लिरहेका छन्। आफ्ना माग पूरा नभए जुम्लामै प्राण त्याग्ने उनले यस अगाडी नै घोषणा गरिसकेका छन्।
डा.गोविन्द केसी आइतबार देखि अनशनरत छन्। चिकित्सा शिक्षामा सुधार सहित कोरोना भाइरस संक्रमण र त्यसले जनतामा पारेको मार बारे गम्भीर बन्न सरकारलाई दबाव दिन उनी जुम्ला चन्दननाथ नगरपालिका-६ रानिचौरमा रहेको बाबिरा मष्टोको (थान) मन्दिर परिसरमा अनशन बसेका हुन्। उनको यो १९ औँ सत्याग्रह हो। उनले यसपल्टको सत्याग्रहमा विभिन्न ६ बुँदे माग अघि सारेका छ्न्।