शनिबार पाँचौँ संविधान दिवस । सधैँझैँ टुँडिखेलमा सैनिक परेडसहित भव्य कार्यक्रम आयोजित थियो । राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरूसहित बडाहरू आउँदै थिए । पर्खालउता खुलामञ्चमा भने रोजगारी गुमाएका भोका नागरिक भेला हुँदै थिए । उनीहरूका लागि खाना लिएर आउँदै थिए सधैँझैँ स्वयंसेवक । स्वयंसेवक र सर्वसाधारण आश्चर्यमा परे जब प्रहरीले भन्यो– तपाईंहरू आज यहाँ खाना वितरण गर्न पाउनुहुन्न । आज भिभिआइपी आउँदै हुनुहुन्छ । कार्यक्रममा डिस्टर्ब हुन्छ ।
यो हो जनताले संघर्ष गरेर स्थापना गरेको गणतन्त्र नेपाल जहाँ भोका जनताले खाना पाउँदा ‘सरकार’लाई डिस्टर्ब हुन्छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।
‘कोभिड– १९ महामारीको संक्रमण बढेपछि सरकारले संक्रामक रोगसम्बन्धी ऐन लगाएर देश ‘लकडाउन’ गर्यो । त्यसमा जनताले विरोध गरेनन् । तर, कानुन सम्झिने सरकारले दायित्व किन सम्झिएन ? काम नपाएका जनताले के खाए होलान् भनेर किन सोचेन ?’ खानाको पर्खाइमा बसेका पर्यटन मजदुर श्यामवीर तामाङको भनाइ थियो ।
‘राष्ट्रपति आउने पनि जनताको भलो गर्छु भनेर हो, प्रधानमन्त्रीले पनि जनतालाई भोकै पर्दैनन् भन्ने हो । ठुल्ठूला भाषण गर्नेहरूलाई सुरक्षा चाहिन्छ, तपाईंहरू उहाँहरूलाई सुरक्षा दिन जानुहोस्, यहाँ गरिब जनता छन्, यी जनताको सुरक्षा गर्नुपर्ने केही छैन,’ स्वयंसेवी इन्दिरा रानामगर र हन्ड्रेड्स गु्रपका स्वयंसेवकहरूले प्रहरीसँग याचना गरिरहेका थिए । यी समूहले चैतमा लकडाउन भएदेखि नै खाना वितरण गर्दै आएका छन् ।
तर, प्रहरी भने माथिको आदेश भन्दै खाना वितरण गर्न नदिने पक्षमा थियो । भोका नागरिक खाना आयो भनेर खुसी थिए, तर प्रहरी भने टुँडिखेलभित्र छिर्न नदिने अडानमा थियो । भोका नागरिक र शक्तिशाली प्रहरीबीच धकेलाधकेल भयो । ‘भिआइपीको भाषण अवरोध गर्ने हाम्रो कुनै मनसाय होइन । उनीहरू त सेनाको बीचमा कार्यक्रम गर्दै थिए । हामी त पर्खालपारि सधैँझै खाना खुवाउने तयारीमा थियौँ । तर, प्रहरीले हामीमाथि नै बल प्रयोग गर्यो,’ हन्ड्रेड्स गु्रपका यम खड्काले नयाँ पत्रिकासँग भने, ‘हामीलाई पक्राउ गर्नेसम्म प्रयास भयो ।’
ठूलाबडा चिल्ला कारमा आउने, भाषण गर्ने, उल्लास मनाउने, तर गरिबको गाँस पनि खोस्ने ? यो कस्तो व्यवस्था हो भनेर सोध्छिन् स्वयंसेवी इन्दिरा । ‘६ महिनादेखि जनताका लागि काम गर्दा धेरै हौसला मिलेको छ । तर, आज सरकारले गरेको व्यवहार देखेर मन कुँडिएको छ,’ उनले भनिन् ।
यो सब देखेर आक्रोशित थिए, पाल्पाका हरिप्रसाद अर्याल । ‘अहिले हरेक दिन पाँच सयभन्दा धेरै नागरिक टुँडिखेलमा खाना खान आउँछन् । हामी यस्ता जनता हौँ जोसँग हिजो जागिर थियो, आम्दानी थियो, रेस्टुरेन्टमा बसेर डिनर र लन्च खाने हैसियत थियो । आज जागिर खोसिएको छ, टुँडिखेलमा कागजको प्लेट थापेर खानुपर्ने अवस्था छ, त्यही गाँस पनि खोस्न प्रहरी आइपुग्छ,’ उनको यो आक्रोश पनि प्रहरीले सुनेको नसुन्यै गर्यो ।