एजेन्सी – फ्रेन्च क्लब मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजले खेलका क्रममा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का नेयमार माथि रंगभेदी टिप्पणी गरेको भन्ने आरोप बारे विभिन्न कोणबाट अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ। त्यस समयमा गोन्जालेजले नेयमारलाई के भनेका थिए र त्यो रंगभेदी टिप्पणी थियो-थिएन भन्ने कुरा अनुसन्धान तथा बहसको विषय बनिरहेको अवस्था छ।
त्यस सम्बन्धमा अनुसन्धान गर्न लिप रिडीङ विशेषज्ञहरु पनि अगाडी आएका छन्। लिप रिडीङ विशेषज्ञहरुका अनुसार गोन्जालेज र नेयमार बीच भनाभन हुँदा गोन्जालेजले नेयमारलाई ‘मोनो’ भनेका थिए।
ब्राजिलको एक मिडिया स्पोर्टे एस्पेटाक्युलरले केहि विज्ञहरु बोलाएर गोन्जालेज र नेयमार बीचको भनाभनलाई विश्लेषण गर्न भन्दा गोन्जालेजले ‘मोनो’ भनेको पाइएको हो। स्पेनिसमा ‘मोनो’ को अर्थ बाँदर हुन्छ। गोन्जालेजले ‘मोनो’ भन्नु अगाडी के भनेका थिए भन्ने बारे भने विज्ञहरु स्पष्ट छैन।
स्पोर्टे एस्पेटाक्युलरले रियो दि जेनेरियो बहिरा संघका केहि विज्ञहरुलाई ओठ पढ्न लगाइएको थियो। जसक्रममा उनीहरुले गोन्जालेजबाट त्यस्तो शब्द उच्चारण भएको निष्कर्ष निकालेका हुन्।
त्यति मात्र नभई विज्ञहरुले भनाभनका क्रममा नेयमारले के भनेका थिए भन्ने बारे पनि केहि तथ्य बाहिर ल्याएका छन्। बताइएअनुसार, नेयमारले पनि समलैंगिक गा-ली दिएका थिए।
https://twitter.com/_NoeFFF/status/1305785389609877504
गत हप्ताको आइतबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमै मार्सेलीसँग १–० ले पराजित भएको थियो। खेल अवधिभर दुवै टोलि बीच धेरै तनावको स्थिति शिर्जना भएको थियो भने अन्त्यतिर दुवै टोलिका खेलाडी हात हालाहालमा उत्रिएका थिए। जस पश्चात रेफ्री जेरोम ब्रिसार्डले ५ खेलाडीलाई रातो कार्ड देखाएका थिए । धेरैनै तनावग्रस्त बनेको उक्त खेलमा रेफ्रीले रेडकार्ड देखाउनु अगाडी १२ पटक पहेंलो कार्ड देखाउनु परेको थियो।
खेल सकिने लाग्दा हात हालाहाल गरेका जोर्डन अमाभी र लेभिन कुर्जावालाई सिधै रातो कार्ड देखाएका थिए । फल गर्ने लियान्ड्रो पारेडेस र डारियो बेनेडेटोलाई रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाएका थिए। नेयमारलाई कार्ड दिन भने भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग गरिएको थियो।
https://twitter.com/_NoeFFF/status/1305785389609877504
भीएआरमा हेर्दा नेयमारले मार्सेका डिफेन्डर अल्भारोलाई टाउको पछाडी मुक्का हानेको देखिएपछि रेफ्रीले त्यसपछि पहिले नै पहेंलो कार्ड पाएका नेयमारलाई सिधै रातो कार्ड देखाएका थिए। नेयमारले मैदानबाट बाहिरिने क्रममा अल्भारोले रंगभेदी टिप्पणी गरेको आरोप लगाएका थिए ।