एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडाल इटालियन क्लब इन्टर मिलानमा आबद्ध हुने भएका छन्।
क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो योजनामा नराखेको स्पष्ट पारेसँगै भिडाल इटालियन क्लब इन्टर मिलानमा आबद्ध हुने भएका हुन्। भिडाल स्वास्थ्य परिक्षण र औपचारिकता पूरा गर्न इटाली पुगिसकेका छन्।
भिडालले बार्सिलोना छाड्ने भएसँगै बार्सिलोनाका सहकर्मी लियोनेल मेस्सीले दुई वर्षमा आफूले भिडाललाई नजिक बाट चिन्ने अवसर पाएको बताएका छन्। मेस्सीले सामाजिक स्नाजल इस्टाग्राम मार्फत दुई वर्ष सँग-सँगै बिताएका पल आफूलाई सधैँ याद आउने बताएका हुन्।
“पहिला हामीले एक-अर्काको सामना गरेका थियौं र मेरो लागि तिमी अभूतपूर्व थियौं। पछि तिमीसँग व्यक्तिगत रूपमा भेट्न पाउँदा म भाग्यशाली भएँ र म झनै छक्क परें।”,मेस्सीले इस्टाग्राममा लेखेका छन्,”दुई वर्ष धेरै कुरामा हामीले साझेदारी गर्यौं। बार्सिलोनाको ड्रेसिंग रूमले तिमीलाई याद गरिरहने छ।”
मेस्सीको सन्देशमा प्रतिक्रिया जनाउँदै भिडालले पनि विश्वको उत्कृष्ट खेलाडीसँग खेल्न पाएर आफू भाग्यमानी भएको बताएका छन्। साथै उनले मित्रताको लागि पनि मेस्सीलाई धन्यवाद दिएका छन्।
यस्तै बार्सिलोनाका अर्का खेलाडी लुइस स्वारेजले पनि भिडाललाई इन्स्टाग्राम मार्फत नै बिदाई सन्देश पठाएका छन्। उनले प्रतिद्वन्द्वीको रुपमा भिडाललाई सामना गर्नु सहज नहुने बताएका छन्।
बार्सिलोनामा उनको सम्झौता अर्काे वर्षको समरसम्म रहेपनि तर नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले भिडाललाई आफ्नो योजनामा नरहेको भन्दै अन्यत्र जान सुझाव दिएका थिए । जसपश्चता भिडालले अनुरुप भिडालले इन्टर मिलान जाने निर्णय गरेका हुन् ।
जर्मन क्लब बायर्न म्युनिखबाट भिडाल तीन वर्षको सम्झौता गर्दै २०१८ मा बार्सिलोना आएका थिए । बार्सिलोनाका लागि ८५ खेल खेल्दै उनले ९ गोल गरेका छन् ।