काठमाडौँ – मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। सोमबारको तुलनामा सुनको मूल्यमा १ हजार ७ सय रुपैंयाले गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा १ हजार ७ सयले घटेसँगै छापावाला सुनको मूल्य ९५ हजार ५ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १७ सयले घटेको छ। जससँगै तेजाबी सुनको मूल्य ९५ हजार कायम भएको छ।
मंगलबार कायम भएको सुनको मूल्य ४१ दिन यताकै कम हो। मंगलबार कायम भएको मूल्य साउन २८ गते यताकै कम रहेको महासङ्घले जनाएको छ। साउन २८ गते छापावाला सुन ९५ हजार ४ सयमा कारोबार भएको थियो। त्यसयता सुनको मूल्य न्यून विन्दुमा पुगेको आज नै हो।
गत महिना सुनको मूल्यमा लगातार घटबढ भएको थियो। भदौ महिनामा सुनको मूल्य १ लाख ४ सय सम्म पुगेको थियो भने सबै भन्दा कम ९५ हजार ८ सय सम्ममा घटेको थियो।
त्यस्तै साउन महिनामा भने सुनको मूल्यमा उच्च वृद्धि भएको थियो। साउन महिनामा सुनको मूल्यले रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ९० रुपैंया घटेको महासङ्घले जनाएको छ। जससँगै चाँदीको मूल्य १ हजार २ सय ३० मा आइपुगेको छ।