एजेन्सी – क्याटलान क्लब बार्सिलोना उरुग्वेली फरवार्ड लुइस सुआरेजलाई स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पठाउन तयार भएको छ। सुआरेज इटालियन महारथी युभेन्टस जाने सम्भावना टरेसँगै सुआरेजलाई स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पठाउन बार्सिलोना सहमत भएको हो।
सुआरेज आफैंले पनि स्पेन छाडेर अन्यत्र जान नचाहेका कारण उनको एट्लेटिको म्याड्रिडको यात्रा तय भएको बताइएको छ। उनी म्याड्रिड जाने लगभग पक्का नै भइसकेको बिबिसीले जनाएको छ।
बिबिसीका अनुसार सुआरेज एट्लेटिकोमा कम पारिश्रमिक लिन पनि तयार भएका छन्। एट्लेटिकोमा उनले बार्सिलोनामा पाउँदै आएको पारिश्रमिक भन्दा आधा रकम पाउने छन्।
उनले बार्सिलोनामा वार्षिक ३० मिलियन युरो पाउँदै आएका थिए। तर, एट्लेटिकोमा भने उनले करिब १५ मिलियन युरो पारिश्रमिक पाउने छन्। यस्तै एट्लेटिकोले उनलाई आफ्नो क्लबमा अनुबन्ध गर्न मात्रै ४ मिलियन युरो तिर्न पर्नेछ।
स्वारेज करिब ६ वर्ष देखि स्पेनमा छन्। उनको परिवार पनि धेरै समय देखि स्पेनमा छ। स्पेन छाडेर अन्यत्र बस्न उनलाई सहज हुने छैन। यहि कारणले गर्दा उनी स्पेनमै रहन चाहेको बताइन्छ।
उनी सन् २०१४मा लिभरपुलबाट ७४ मिलियन पाउण्डमा बार्सिलोना आएका थिए। बार्सामा ६ वर्ष बिताउँदा सुआरेजले २८३ खेल खेल्दै १९८ गोल गरेका छन्।