काठमाडौँ, दशैँ आउन डेढ महिनाअघि नै ठेलमठेल हुने न्युरोडका बजारमा यो वर्ष त्यति रौनक छैन । धेरैजसो थोक कारोबार हुने रञ्जना मल, महाबौद्ध, आरबी कम्प्लेस सुनसानजस्तै छन् । कोरोनाका कारण छ महिनादेखि थला परेको यो क्षेत्र दशैँपूर्वको कारोबार समयमा समेत सुनसान हुँदा व्यापारी चिन्तित छन् । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।
बोहनी भए ठूलो कुरा
दशैँका लागि नै भनेर बजारमा सामान पनि नआएको व्यापारी बताउँछन् तर आएको थोरै सामान किन्न पनि ग्राहक नै आएका छैनन् । महाबौद्धका जुत्ताका थोक व्यापारी कमलकृष्ण प्रजापति अघिल्ला वर्षहरूमा डेढ महिनाअघि नै खाजा खानसमेत फुर्सद नहुने पसलमा अहिले बोहनी हुनु नै ठूलो मान्नुपर्ने अवस्था आएको गुनासो गर्नुहुन्छ ।
इन्द्रचोकका साडी, कुर्ता पसलका थोक तथा खुद्रा व्यापारी कुमार साहको त बोहनीको पनि अनुभव बेग्लै छ । उहाँले पसल खोलेका १५ दिनमा तीन दिन मात्रै बोहनी भएको र बाँकी दिन खाली हात फर्किनुपरेको अनुभव सुनाउनुभयो । उहाँले बजारमा भनेजस्तो सामान नआएकाले बल्लबल्ल आएका ग्राहकलाई चित्त बुझ्ने सामान नभएर पनि समस्या भएको बताउनुभयो ।
खोजेजस्तो पाइन्न
ग्राहकको गुनासो बेग्लै छ । पोखराबाट ट्याक्सी रिजर्भ गरेर दशैँको सामान किन्न रञ्जना मल आइपुग्नुभएकी पर्वत फेसन कलेक्सनकी सञ्चालक शोभा पौडेलले खोजेको र अर्डरको सामान नपाइएको गुनासो गर्नुभयो । दशैँमा व्यापार हुन्छ कि भनेर ट्याक्सी रिजर्भ आएकी पौडेलले दुई दिन बजार घुम्दासमेत भनेजस्तो सामान नपाएको अनुभव सुनाउनुभयो ।
थोक व्यापारी भने दशैँका लागि खरिद गरेका धेरैजसो सामान नाकामा रोकिएको र बजारमा ग्राहक पनि नभएकाले थप सामान ल्याउन त्यति उत्साह नभएको बताउँछन् । कोरोनाले गर्दा यो वर्षको दशैँको व्यापार विगतको तुलनामा १० प्रतिशत पनि नहुने अवस्था देखिएको व्यापारी बताउँछन् ।
रञ्जना मलका थोक कुर्ता व्यापारी रमेश बानियाँले बजारमा उपत्यकामा बाहिरबाट व्यवसायी आउन नसकेको र उपत्यकामा रहेका स्थानीय व्यवसायीले मात्रै सामान निर्यात गरिरहेको बताउनुभयो । गर्मीका लागि खरिद गरेका सामान नाकामै रोकिए, अब जाडोका सामानको माग आउने बेला भयो । त्यसैले नाकामा अड्केका सामान आए पनि स्टकमा राख्नुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो ।
नेपाल–चीन नाकामा समस्या
ने
पाल–चीन चेम्बर अर्फ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले कुल लत्ताकपडालगायत मागको झन्डै ८० प्रतिशत माग चीनले धानेको अवस्थामा अहिले चीनबाट स्थल मार्ग हुँदै सामान नेपाल छिर्न नसकेकाले यो क्षेत्रमा निराशा बढेको बताउनुभयो ।
उहाँका अनुसार सामान्य अवस्थामा त दशैँ आउनु दुई महिनाअघि लगभग सबै सामान आइपुग्नेमा अहिले एक महिना बाँकी हुँदासमेत केही पनि सामान नै भित्रिन सकेको छैन । चीनका सामान पनि भारतको कलकत्ता हुँदै ल्याउनुपरेको तर नेपालसँग जोडिएका तातोपानी, रसुवागढी नाका ठप्प रहेको गुनासो अध्यक्ष तुलाधरले गर्नुभयो ।
अध्यक्ष तुलाधरका अनुसार दशैँका लागि लत्ताकपडादेखि खाद्यान्न, हाइड्रोपावर लगायतका गरी झन्डै २० अर्बको सामान नाका अड्किएको छ । नेपालका व्यवसायीले अर्डर गरेको कन्टेनर नाकामा थन्किँदा धेरै नोक्सान भएको भएको उहाँको भनाइ छ । यस विषयमा नेपाल र चीन सरकार सकारात्मक भए पनि नाकामा रहेका चीनका स्थानीय सरकारले नेपाल छिर्ने चिनियाँ ट्रकको मापदण्ड बनिनसकेकाले रोकिएको भन्दै उहाँले मापदण्ड बन्नेबित्तिकै ट्रक छोड्ने प्रतिबद्धता आएकाले अर्को सातासम्म ती ट्रक नेपाल आइपुग्ने आशा व्यक्त गर्नुभयो ।
लामो समयदेखि केरुङ नाकामा सामान अड्किएपछि बजारमा आपूर्ति गर्न केही व्यवसायीले कोलकाताको जहाजबाट सामान आयात गर्दै आएको अध्यक्ष तुलाधरले बताउनुभयो तर त्यसका लागि पनि करिब ३५÷४० दिन लाग्ने भएकाले समस्या भइरहेको भएको
व्यापारी बताउँछन् ।