काठमाडौँ – बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ। मंगलबारको तुलनामा सुनको मूल्यमा १ हजार २ सय रुपैंयाले गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा १ हजार २ सयले घटेसँगै छापावाला सुनको मूल्य ९४ हजार ३ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १२ सयले घटेको छ। जससँगै तेजाबी सुनको मूल्य ९३ हजार ८ सय कायम भएको छ।
बुधबार कायम भएको सुनको मूल्य २ महिना यताकै सस्तो हो। यस मूल्य साउन ७ गते यताकै सस्तो रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। साउन ७ गते ९४ हजारमा कारोबार भएको थियो। त्यसयता सुनको मूल्य न्यून विन्दुमा पुगेको आज नै हो।
यस अगाडी मंगलबार पनि सुनको मूल्यमा गिरावट भएको थियो। मंगलबार सुनको मूल्य तोलामा १७ सयले घटेको थियो। जससँगै सुन ४२ दिन यताकै सस्तो भएको थियो। आज भने सुन ६३ दिन यताकै सस्तो भएको छ।
त्यस्तै साउन महिनामा भने सुनको मूल्यमा उच्च वृद्धि भएको थियो। साउन महिनामा सुनको मूल्यले रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ४० रुपैंया घटेको महासङ्घले जनाएको छ। जससँगै चाँदीको मूल्य १ हजार १ सय ९० मा आइपुगेको छ।