काठमाडौँ – बुधबार करेन्ट लागेर नेपालमा दुई जनाको ज्यान गएको छ। कैलाली र ओखलढुङ्गामा एक-एक जना गरी करेन्ट लागेर दुई जनाको ज्यान गएको हो।
कैलालीमा ज्यान गुमाउनेमा गौरीगङ्गा नगरपालिका– १०का २९ वर्षीय रघुवीरसिंह धामी रहेका छन्। धानखेतको बीचबाट गएको विद्युत्को खुला तारमा करेन्ट लागेर उनको ज्यान गएको हो। करेन्ट लागेर ज्यान गुमाएका धामीसँगै रहेका पाँच जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिइरहेको छ।
यस्तै ओखलढुङ्गामा ज्यान गुमाउने मोलुङ हाईड्रोमा कार्यरत सुपरभाइजर कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्री रहेका छन्। पोलमा चढ्दा विद्युत् सर्ट भई करेन्ट लाग्दा उनको ज्यान गएको हो।
मोलुङ हाईड्रोको हाईटेन्सन लाइनको जम्पर हटाउन सिद्धिचरण नगरपालिका–१२ को भडारेमा पोलमा चढ्दा विद्युत् सर्ट भई करेन्ट लागेर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए।
मृतावस्थामा विद्युत्को पोलमा झुण्डिएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेकको र त्यसपछि मुचुल्का गरी खत्रीको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको खड्काले बताए।