काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका व्यक्तिमा त्यसको असर पछिसम्म देखिरहने नेपालमा गरिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अुनसन्धान परिषद्ले गरेको अध्ययनले सामान्य लक्षण भएका युवा र वयस्कमा पनि लामो समयसम्म बिरामी बनाउन सक्ने देखाएको हो । अध्ययनअनुसार ३५ प्रतिशत व्यक्तिहरूमा निको भएको दुई÷तीन हप्तासम्म पनि रुघाखोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकान महसुस हुनेजस्ता समस्या देखिने गरेको पाइएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा अध्ययनले देखाएको मुख्य विषय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । उनका अनुसार देशका सातै प्रदेशबाट संक्रमण भई निको भएका ५ सय ५२ जना व्यक्तिको संख्यात्मक र २५ जना व्यक्तिमा गुणात्मक विधिबाट सर्भेक्षण गरिएको थियो । जसमा शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यवस्थाबारे अनुसन्धान गरिएको थियो ।
अनुसन्धानमा सहभागी भएका १० दशमलव ९ प्रतिशत व्यक्तिहरूमा रुघाखोकी लाग्ने, हाच्छयूँ आउने, चिसो महसुस हुने, गन्ध र स्वाद थाहा नपाउने तथा सामान्य काम गर्दासमेत कमजोर महसुस हुनेजस्ता लक्षण देखिएको थियो । ८९ दशमलव १ प्रतिशत व्यक्तिको स्वास्थ्य सामान्य रहेको पाइएको थियो । अध्ययनले नेपालमा कोरोना संक्रमण भई निको भएका व्यक्तिमा गरेको स्वास्थ्यवस्था मूल्यांकन सर्भेमा झन्डै ९९ प्रतिशतको ट्राभल हिस्ट्री (यात्रा गरेको) पाइएको छ । जसमध्ये ६९ प्रतिशत संक्रमितले आन्तरिक र २९ प्रतिशतले अन्तर्राष्ट्रिय यात्रा गरेको पाइएको छ । त्यसैगरी, सर्भेक्षण सहभागी मध्ये ७० जना दीर्घरोगी रहेको परिषद्ले जानकारी दिएको छ । जसमध्ये पनि सबैभन्दा बढी मधुमेह, मुटुसम्बन्धी, दम रोगी, श्वासप्रश्वासम्बन्धी रोग र केहीमा एचआइभी संक्रमित पनि देखिएको छ । कोरोनापश्चात १२ प्रतिशतसम्म धूमपान र मद्यमान सेवन गर्न कम गरेको पाइएको छ । सो सर्भेले ८० प्रतिशत निको भएका व्यक्तिले घरायसी, घर बाहिर र आर्थिक काम सहजै गरेको पाइएको छ ।