एजेन्सी – अमेरिकाले नेपाल सहित विश्वका ५९ मुलुकका विद्यार्थीलाई दुई वर्ष भन्दा बढी भिसा नदिने गरी कानुन ल्याउने प्रक्रिया अगाडी बढाएको छ।
भिसा म्याद सकिएपछि पनि अमेरिकामै बस्ने गरेको पाइएसँगै अमेरिकाले त्यस्ता मुलुकका विद्यार्थीलाई दुई वर्ष भन्दा बढी भिसा नदिने कानुन ल्याउन प्रक्रिया अगाडी बढाएको हो।
बिहिबार अमेरिकाको होमल्यान्ड सेक्युरिटी विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेको सम्बन्धमा जानकारी गराएको छ। ठगी कम गर्न, जालसाजी कम गर्न र राष्ट्रिय सुरक्षा बृद्धि गर्न यस्तो कानुनी परिवर्तनको तयारी गरिएको विभागले जनाएको छ।
एफ, जे र आइ प्रकारको गैरआवसीय भिसा प्राप्त गर्ने विद्यार्थीलाई लागू हुनेहरु उक्त कानुन ल्याउन लागिएको बताइएको छ। यी प्रकारका भिसा प्राप्त गर्ने मुलुकका विद्यार्थी भिसा म्याद सकिएपछि पनि अमेरिकामै बसेको पाइएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन्।
बताइएअनुसार, नेपालबाट गएका ९० प्रतिशत विद्यार्थी भिसा सकिएपछि पनि अमेरिकामै बस्ने गरेका छन्। जसकारण नेपालपनि ५९ मुलकको सूचीमा परेको हो।
उक्त प्रस्ताव कानुन बनेर लागु भएमा २ वर्षको अवधि सकिएपछि पाठ्यक्रमअनुसार अवधि थप्न सकिनेछ। तर, त्यसको लागि चित्त बुझ्दो कारण हुनुपर्ने विभागले जनाएको छ।