काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारले देशको अर्थतन्त्रलाई धरासायी बनाउँदै लगेको आरोप लगाएका छन्।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनाउँदै लागेको आरोप लगाएका हुन्। नेकपाको सरकारमा भ्रष्टाचार मौलाएको उनको आरोप छ।
“कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरुमा कम्युनिष्टहरुले मुलुकलाई धरासायी पारे र आफुपनि त्यसरी नै धरासायी भए । अहिले त्यही बाटोमा नेपाल पनि छ । भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ । यतिका काण्ड त पञ्चायति समयमा पनि भएका थिएनन होला ।”,उनले भने।
वर्तमान सरकार र कम्युनिष्ट पार्टीले मुलुकमा रहेका कुनै पनि समस्याबाट देश र जनतालाई छुटकारा दिलाउन नसक्ने उनले जिकिर गरे। जसकारण देशमा वैकल्पिक शक्तिको आवश्यकता खड्किएको उनको तर्क छ।
“जनताका समस्या प्रति सरकारले ध्यान दिन सकेन। जनता उपचार र खाना नपाए पनि सरकारले कुनै वास्ता गरेन। जसकारण देशमा वैकल्पिक शक्तिको आवश्यकता छ।”,उनले भने।
लोक समाजवाद (समाजवाद, संघियता र लोकतन्त्र)को बाटोमा हिड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माणमा आफूहरु लागेको बताए।