राँझा – बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी होमआइसोलेशनमै बस्दै आएका थिए ।
आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उनको निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिए। जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको बताए।
बागलुङमा ७ हजार ८ सयले गरे कोरोना बीमा
बागलुङमा साढे सात हजारभन्दा बढीले कोरोना बीमा गरेका छन् ।
कोरोना भाइरस सङ्क्रमण बढेसँगै बागलुङमा हालसम्म सात हजार ८८६ जनाले बीमा गरेका हुन् । तीमध्ये तीन जनाले मात्रै बीमा रकम दाबी गरेका छन् । बीमा रकम दाबी गरेकामध्ये दुई जनाले बीमा कम्पनीबाट भुक्तानी लिइसकेका छन् भने एक जना लिने प्रक्रियामा रहेको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द आचार्यले जानकारी दिए।
उनका अनुसार बागलुङमा हालसम्म ३ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । बीमा गरेका दुई जनाले आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमाबापत रु एक लाख रकम भुक्तानी लिएका छन् भने बागलुङ काठेखोलाको क्वारेन्टिन व्यवस्थापन र सुरक्षामा खटिएका सुरक्षाकर्मीले पनि बीमाबापतको रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको उनले बताए।
बीमा समितिले निर्जीवन बीमा कम्पनी र नेपाल पुर्नबीमा कम्पनीसँग समन्वय गर्दै २० वटा निर्जीवन बीमा कम्पनीलाई कोरोना बीमा गर्ने अनुमति प्रदान गरेको थियो । तीमध्ये बागलुङमा १३ वटा निर्जीवन बीमा कम्पनीले कोरोना बीमाको काम गरिरहेका छन् । हालसम्म सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चार हजार जनाको कोरोना बीमा गरेको छ । बीमा दाबी गर्ने तीनै जना बीमित पनि यही बीमा कम्पनीका हुन् ।