एजेन्सी – शुक्रबार राति युक्रेनमा एक सैनिक विमान दुर्घटना भयो । उक्त दुर्घटनामा परी २६ जनाले ज्यान गुमाए। राजधानी किभ क्षेत्रमा भएको विमान दुर्घटनामा परेका प्रायः सबै व्यक्ति सैनिक रहेका थिए।
स्थानीय संचार माध्यमहरुका अनुसार दुर्घटना भएको विमानमा २७ जना सवार थिए। जस मध्ये २६ जनाले ज्यान गुमाए। दुर्घटना पश्चात विमान जलेर नष्ट भएपनि एक जना भने बाँच्न सफल भएका छन्। विमानमा रहेका सबैले ज्यान गुमाउँदा बाँच्न सफल हुने क्याडेट भ्याचेस्लाभ जोलोचेभस्की हुन्। बताइएअनुसार, उनी विमानबाट हामफालेर बाँच्न सफल भएका थिए।
हाल उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अस्पताल श्रोतलाई उदृत गर्दै संचार माध्यमहरुले बताएअनुसार घाइते क्याडेट जोलोचेभस्की अहिले खतरामुक्त छन्।
दुर्घटना बारे अनुभव
दुर्घटना कम्प्युटर गेम जस्तै लागेको जोलोचेभस्कीको भनाई छ। कम्प्युटर गेममा जस्तै सबै कुरा एकैछिनमा आँखा अगाडी नै जलेर तहसनहस भएको उनी बताउँछन्।
दुर्घटना पश्चात केहि समय अगाडी आफूसँगै रहेका साथीहरु जलेको उनले आफ्नै आँखाले देखेका थिए। उनले आफ्ना एक साथीलाई बचाउने प्रयास समेत गरेका थिए। तर, अस्पतालमा उनको उपचारका क्रममै निधन भयो।
विमानको इन्जिन फेल भएको खबर आएको केहि समयमै विमान जमिनमा बजारिन पुगेको उनलाई सम्झना छ। तर, त्यसपछि के-के भयो उनलाई खासै याद छैन।
विमान दुर्घटना पछि उनले के-के देखे र उनलाई जे सम्झना छ ती सबै अहिले उनलाई कम्प्युटर गेम जस्तै लागिरहेछ।