पोखरामा २० घण्टाको नवजात शिशुमा कोरोना !

काठमाडौँ – पोखरामा नवजात शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महागनरपालिका ४ का एक शिशुमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।

निर्देशनालयका अनुसार कोरोना पुष्टि हुने शिशु जन्मिएको २० घण्टा मात्रै भएको छ। कोरोना पुष्टि भएका शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एनआइसियुमा भर्ना गरिएको छ ।

निर्देशनालयले बुधबार दुई छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले बुधबार बिहान एक विज्ञाप्ति जारी गर्दै ३० जनामा कोरोनाको पुष्टि भएको जनाएको थियो भने त्यसको केहि घण्टापछि एक शिशु सहित थप तीन जनामा कोरोनाको पुष्टि भएको जानकारी दिएको थियो।

बुधबारको थप पुष्टिसँगै प्रदेशमा जम्मा संक्रमितको संख्या तीन हजार आठ सय ६६ पुगेको छ । निर्देशनालयका अनुसार संक्रमितमध्ये अहिलेसम्म दुई हजार सात सय ३५ जना भने निको भइसकेका छन् । गण्डकी प्रदेशमा अब सक्रिय संक्रमितको संख्या एक हजार ९८ रहेका छन् ।

प्रकाशित : बुधबार, असोज १४, २०७७०७:५७

कक्षा १२ को परीक्षा: विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद् पठाइयो !