काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले जबर्जस्ति करणीका घटना पछिल्लो समय बढेको स्वीकारेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले करणीका घटना पछिल्लो समय बढेको स्वीकारेका हुन्।
गृहमन्त्री थापाले नेपालमा दैनिक ६-७ सम्म करणीका घटना हुने गरेको बताए। यस प्रकारका घटना रोक्न सरकारले प्रयास गरिरहेको उनको भनाई छ।

करणीका घटना रोक्न सरकारले प्रयास नगरेको भन्ने आरोपको उनले खण्डन गरे। सरकार यस प्रकारका घटना रोक्न कटिबद्ध भएको उनले दावी मात्र गरेनन्, आवश्यक थप कदम चाल्ने प्रतिवद्धता पनि व्यक्त गरे।
नेपालमा करणीका घटना बढेपनि त्यस्तो खराब अवस्था भने नभएको उनको भनाई छ। अमेरिकालगायतका विकसित मुलुकको अवस्था नेपालको भन्दा खराब रहेको उनले दावी गरे।
दक्षिण अफ्रिकामा करणीका घटना अझ बढी हुने र विश्वको सबै भन्दा विकसित मुलुकको रुपमा रहेको अमेरिका नै शिर्ष १०मा रहेको उनले बैठकमा सुनाए।
“सवा २०० कन्ट्री(देश) हरु अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने विषय होइन । सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान धेरै पछाडि नै छौं । पछाडिबाट हेर्दा हामी टप १५ मा छौं ।”,उनले भने।
![]()

