काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आठवटा निजी प्रयोगशालालाई २४ घण्टाभित्र पीसीआर परीक्षण शुल्क समायोजन गर्न निर्देशन दिएको छ । सरकारले तोकेको शुल्क समायोजन नगरे परीक्षण अनुमति खारेज गरिनेसमेत मन्त्रालयले जनाएको छ । यसअघि शुल्क समायोजन नगर्ने प्रयोगशालालाई अन्तिमपटक पत्र पठाउन टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई मन्त्रालयले निर्देशन दिएको थियो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।
मन्त्रालयले २४ घण्टे समयसीमा दिएकोमा ह्याम्स अस्पताल, स्टार अस्पताल, बी एन्ड बी अस्पताल प्रयोगशाला, नेपाल मेडिसिटी अस्पताल प्रयोगशाला रहेका छन् । यस्तै डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डाइग्नोस्टिक ल्याबरोटर एन्ड रिसर्च सेन्टर र इन्ट्रापिड डायग्नोस्नोस्टिक सेन्टर रहेका छन् । सरकारले यसअघि पीसीआर परीक्षण शुल्क घटाएर दुई हजार रुपियाँ कायम गरेको थियो ।
गुणस्तर तथा नियमन महाशाखाको सिफारिसका आधारमा निजी प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क घटाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । गत भदौ २८ गतेबाट पीसीआर परीक्षण शुल्क दुई हजार रुपियाँ तोके पनि यी आठवटा प्रयोगशालाले बढी शुल्क लिएका थिए ।
यी प्रयोगशालालाई बढी शुल्क लिएको भन्दै कालोबजारी ऐनअनुसार कारबाही गर्न वाणिज्य विभाग र गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो । यसअघि निजी प्रयोगशालाले गत सोमबार विज्ञप्ति जारी गर्दै आफूहरूले पीसीआर परीक्षणमा तीन हजार ८९९ रुपियाँ लिएको र त्योभन्दा कम गर्न नसकिने जनाएका थिए ।
एक हजार ५५९ जनामा सङ्क्रमण
पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गर्दा ती व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७७ हजार ८१७ पुगेको छ । हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ८१९ छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ५७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या ५६ हजार ४२८ पुगेको छ ।
उपत्यकामा सङ्क्रमण निरन्तर उकालो
राजधानी उपत्यकामा कोरोना सङ्क्रमण निरन्तर उकालो लागिरहेको छ । काठमाडौँ उपत्यकामा थप ९०२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ६९७ जना, भक्तपुरमा ९३ जना र ललितपुरमा ११२ जनामा कोरोना पुष्टि भएको हो ।