काठमाडौँ- सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ।
बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
राष्ट्रियसभा सदस्य हुँदै मन्त्री बनेका खतिवडा केहि समय अगाडी मात्रै अर्थमन्त्रालयबाट बिदा भएका थिए। प्रधानमन्त्री ओलीले खतिवडालाई नै राष्ट्रियसभा सदस्य बनाएर मन्त्रीमै निरन्तरता दिने प्रयास गरेका थिए। तर, पार्टीका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभा सदस्य बन्ने हठ नत्यागेपछि ओलीको प्रयास असफल भएको थियो।
त्यसैगरी मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गर्ने निर्णय पनि गरेको छ।
रेग्मीको ठाउँमा मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय पनि आजै गरेको छ।