काठमाडौँ – सरकारले डा.निर्मलकुमार विश्वकर्मालाई विभिन्न १२ देशका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ।
बिहिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले कपिलबस्तुका विश्वकर्मालाई दक्षिण अफ्रिकासहित १२ देशका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र अन्य देशका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरेको जानकारी गराए।
उनका अनुसार विश्वकर्मालाई बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम्बिया, जिम्वावे, ग्यावोन, मोजाम्विक, मौरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरिएको हो।
युवराज खतिवडा अमेरिकासहित अन्य ६ देशको राजदूतमा सिफारिस
सरकारले प्रधानमन्त्रीका पूर्व मुख्य आर्थिक सल्लाहाकार तथा पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूतको रुपमा सिफारिस गरिएको हो।
साथै उनलाई पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका गैरआवासीय राजदूतको रुपमा सिफारिस गर्ने निर्णय पनि सरकारले गरेको छ।