काठमाडौँ – जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले राष्ट्रवादीको रुपमा आफूलाई चिनाउनेहरुले नै राष्ट्रघात गरेको आरोप लगाएका छन्।
एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा महतोले सरकार र पद प्रतिको लागि राजनीतिक दल तथा नेताहरुले खोक्रो राष्ट्रवादको एजेण्डा बोक्ने गरेको बताए।
वर्तमान सरकारले खोक्रो राष्ट्रवादको नारा दिएर जनतालाई ठग्ने काम गरेको उनको आरोप छ। सरकारले कालापानी-लिपुलेक लगायतका क्षेत्र समेटेर नक्सा ल्याइएपनि जमिन फिर्ता ल्याउनेतर्फ भने गम्भीर नभएको बताए।
“कालापानी गुमाउने को हो ? संसदबाट महाकाली सन्धि पारित गराउने को हुन्, जनताले चिनेका छैनन् र ? पारित गराउने उनै ओली होइनन्? त्यो राष्ट्रवाद थियो कि राष्ट्रघात थियो जनताले बुझिसके।”,उनले भने,”यी सबै कुरा जनताले बुझिसकेको अवस्था छ। यो कुरालाई ढाकछोप नगरौं। अब राष्ट्रघातीहरुलाई खोजि-खोजि टुँडिखेलमा झुण्ड्यानुपर्छ”
नेता महतोले केहि समय अगाडी आफूले राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्यानुपर्छ भनेर संसदमै स्पष्ट रुपमा बोलेको स्मरण गरे। राष्ट्रघात गर्नेहरुनै राष्ट्रवादीको रुपमा आफूलाई प्रस्तुत गर्ने संस्कार त्याग्नुपर्ने उनको भनाई छ। जनताको आँखा खुलेको दिन कोहि पनि राष्ट्रघाती नबाँच्ने उनले स्पष्ट पारे।
“देशमा लोकतन्त्र छ। समय आएपछि जनताले एक-एक हिसाब-किताब लिन्छन्।”,उनले भने। कालापानी-लिपुलेक लगायतका भूमि फिर्ता ल्याउन आफूहरुले भारतसंग वार्ता गर्न आग्रह गरेपनि सरकारले त्यसो गर्न नसकेको उनको आरोप छ।
“नक्सामा भूमि राखेर मात्र हुँदैन। जमिन फिर्ता ल्याउनुपर्छ। वार्ता जनताले नभई सरकारले गर्ने हो। सम्पूर्ण नेपाली जनता एक भएर आफ्नो दायित्व पूरा गरिसके। अब भूमि फिर्ता ल्याउने काम सरकारको हो”,उनले भने,यो कस्तो राष्ट्रवाद हो? मैले पहिला पनि भनेको छु – पहिला नक्सामा भएको कालापानी कसले गायब बनायो ?”
यस्तै नेता महतोले आफूहरु वैकल्पिक शक्तिको निर्माणमा लागि परेको पनि बताए। नेपालमा कांग्रेस र कम्युनिष्ट दुवै असफल भइसकेको हुँदै अब वैकल्पिक शक्तिको निर्माण गर्नुको विकल्प नरहेको उनले स्पष्ट पारे।