काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण लगातार बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको छ ।
शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा नआउन आग्रह गरेका हुन्। काठमाडौँमा कोरोना तिब्र गतिमा बढिरहेका कारण सकेसम्म उपत्यका नआउन उनले आग्रह गरे।
“अहिले सकभर काठमाडौं उपत्यकामा नआउन हुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउनुस् ।”,आग्रह गर्दै उनले भने।
साथै उनले टोलटोलमा कोरोना नियन्त्रणकाे अभियान चलाउन पनि देशभरका पालिकाहरुलाई आग्रह गरे। महिला स्वास्थ्य स्वयंसेविका तथा पालिका स्तरमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सहभागी गराएर चेतनामुलक अभियान सञ्चालन गर्न गर्न उनको आग्रह छ।
खोप नआउञ्जेल मास्क लगाउने, दूरी कायम गर्ने, हात धुने तथा स्यानिटाइजर प्रयाग गर्नु नै उत्तम उपाय रहेको उनको भनाइ छ।
दुई हजार बढी सङ्क्रमित थपिए
गत २४ घण्टामा उपत्यकामा एक हजार १७७ सहित गरी देशैभर दुई हजार १२० मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या दुई हजार ४४ रहेको जानकारी दिए ।
हालसम्म देशभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ छ । संस्थागत आइसोलेसनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या ९ हजार ७७३ छ । प्रदेश १ मा २४०, प्रदेश २ मा ६११, बाग्मती प्रदेशमा छ हजार ८९३, गण्डकी प्रदेशमा ३८७, प्रदेश ५ मा ९५१, कर्णाली प्रदेशमा ३७७ र सुदुरपश्चिम प्रदेशमा ३१४ जना हुनुहुन्छ । प्रवक्ता गौतमले भने, “होम आइसोलेसनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या प्रदेश १ मा एक हजार ७०५, प्रदेश २ मा ५१८, बाग्मती प्रदेशमा सात हजार ३७, गण्डकी प्रदेशमा ५३२, प्रदेश ५ मा एक हजार २०५, कर्णाली प्रदेशमा २३०, सुदुरपश्चिम प्रदेशमा ३०२ जना गरी जम्मा एघार हजार ५२९ जना हुनुहुन्छ ।”
गत २४ घण्टामा गरिएको पिसिआर १२ हजार ९७८ मा गरिएको छ । त्योसँगै हालसम्म १० लाख ६१ हजार ६६४ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या ४ हजार २७३ छ । प्रदेशअनुसार प्रदेश १ मा ५०८, प्रदेश २ मा १२७, बाग्मती प्रदेशमा ५०७, गण्डकी प्रदेशमा ६४१, प्रदेश ५ मा एक हजार २०९, कर्णाली प्रदेशमा ६०३ र सुदुरपश्चिम प्रदेशमा एक हजार ६७८ जना रहेका छन् । सङ्क्रमण मुक्त भई हालसम्म घर फर्कनेको सङ्ख्या ६२ हजार ७४० जना रहेका छन् ।
कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत छ । देशैभरी आइसियुमा उपचाररत विरामीको सङ्ख्या २१७ हुनुहुन्छ । भेन्टिलेटरमा उपचारत सङ्ख्या जम्मा ३१ रहेको छ । कोभिड–१९ बाट ८ जनाको मृ-त्यु भएको छ । योसँगै हालसम्म मृ-त्यु हुनेको सङ्ख्या ५२८ पुगेको छ ।
मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढि सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । विश्वमा हालसम्मको तथ्याङ्क हेर्दा तीन करोड ४८ लाख ३७ हजार ४२ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । त्यसमा निको हुनेको सङ्ख्या दुई करोड ५१ लाख ५७ हजार ६६० रहेको छ ।