एजेन्सी – यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट एभर्टन पुगेका कोलम्वियन मिडफिल्डर हामेस रोड्रिग्वेजले दुई गोल गर्नुका साथै एक गोलको लागि असिस्ट दिएपछि एभर्टनले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो जित दर्ता गरेको छ ।
लगातार चौथो जित दर्ता गर्ने क्रममा एभर्टनले घरेलु मैदानमा ब्राइटनमाथि ४–२ को जित हात पारेको हो । एभर्टनको जितमा हामेस रोड्रिग्जले दुई गोल गर्दा डोमिनिक काल्भर्ट लेविन र यारी मिनाले गोल गरे । ब्राइटनका निल मोउपे र यभेस बिसोउमाले गोल गरेपनि हार टार्न सकेन ।
गुडिसन पार्कमा शनिबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको १६औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । हामेस रोड्रिग्वेजको सट कर्नरमा गिल्फी सिगुर्डसनले गरेको क्रसलाई काल्भर्टले हेडरमार्फत जाली चुमाएका थिए ।
३८औं मिनेटमा सोली मार्चको क्रसमा आरोन कोनोल्लीको प्रयास पोस्टबाट थोरै बाहिरिदा ब्राइटन बराबरीबाट चुक्यो । ४१औं मिनेटमा निल मोउपेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । लियान्द्रो ट्रोससार्डको प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले राम्ररी नियन्त्रणमा लिन नसकेको बललाई मोउपेले गोलमा परिणत गरेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा यारी मिनाले गोल गरेपछि एभर्टनले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । हामेस रोड्रिग्वेजको फ्रिकिकमा मिनाले क्लोज रेन्जबाट हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
५२औं मिनेटमा रोड्रिग्वेजले गोल गरेपछि एभर्टनले खेलमा ३–१ को अग्रता लिन सफल भयो । लियान्द्रो ट्रोससार्डको गल्तीमा एलेक्स इओवीको बल अघि बढाउदै दिएको पासमा अनमार्क रहेका रोड्रिग्वेजले वान टचमा जाली चुमाएका थिए । ७०औं मिनेटमा पनि रोड्रिग्वेजले सोही मुभमा गोल गरेपछि एभर्टनले खेलमा ४–१ को आरामदायी अग्रता लियो ।
यसपटक उनले एब्डोउलाए डोउकोउरेको पासमा उत्कृष्ट फिनिस गरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो् मिनेटमा यभेस बिसोउमाले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएपनि हार टार्न सकेन । उनले सोल्ली मार्चको पासमा गोल गरेका थिए ।
लगतार चौथो जितसँगै एभर्टन १२ अंक जोडेर लिगको शीर्षस्थानमा कायमै रहेको छ । एक खेल कम खेलेको लेस्टर सिटी र लिभरपुलको समान ९ अंक छ । पराजित ब्राइटन ३ अंकसहित १४औं स्थानमा छ ।

