काठमाडौँ – मकालु बेसक्याम घुम्न गएका एक युवकको निधन भएको छ। संखुवासभाको खाँदबारीबाट मकालु बेस क्याम्प घुम्न गएका एक युवकको निधन भएको हो।
निधन हुनेमा खाँदबारी नगरपालिका १–का २४ बर्षीय बिवेक श्रेष्ठ रहेका छन्। उनको बेस क्याम्पबाट फर्किने क्रममा निधन भएको बताइएको छ।
प्रहरीका अनुसार असोज १२ गते श्रेष्ठ सहित ७ जना जिल्लाको सदरमुकाम खाँदबारीबाट मकालु बेस क्याम्प तर्फ गएका थिए। फर्किने समयमा श्रेष्ठ सामान्य बिरामी भएका थिए।
सुतेकै अवस्थामा बेहोस भएपछि उनलाई हेलिकोप्टरबाट उद्दार गरेर आइतबार बिहान अस्पताल ल्याइएको र अस्पतालले उनलाई मृत घोषित गरेको संखुवासभा प्रहरीले जनाएको छ।
श्रेष्ठको लेक लागेर निधन भएको हुन सक्ने अनुमान गरिएको छ।