काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य डा भीमबहादुर रावलले निजी कम्पनीले भूमिस्थ सेवा दिन लागिएको विषय धेरै नै संवेदनशील रहेको बताएका छन्।
प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा भएको बैठकमा बोल्दै उनले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई बेवास्ता गर्दै निजी कम्पनीले भूमिस्थ सेवा दिने विषयलाई सामान्य रुपमा लिन नहुने बताए।
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई बेवास्ता गर्दै निजी कम्पनीले भूमिस्थ सेवा दिन लागिएको भन्ने विषय निकै संवेदनशील भएकाले निर्णयमा पुनर्विचार गर्न तथा निगम व्यवस्थापन सुधारका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए।
साथै उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी रहने व्यवस्था हटाउन माग पनि गरे । शान्ति सुरक्षा कायम गर्न नेपाल स्वयम् सक्षमा रहेको भन्दै उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी रहने व्यवस्था तत्काल हटाउनुपर्ने बताए।
समितिका सदस्य माधवकुमार नेपालले देशको हितका लागि राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका सबै बाधाव्यवधानलाई किनारा लगाउँदै तदरुपताका साथ अघि बढ्न सुझाव दिए । वर्षौँदेखि चर्चामा रहेको आयोजनाको अहिलेको कार्य सुस्त गतिमा रहेको जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले वनलगायत समस्यालाई उच्चतहबाटै समाधान गरेर आयोजना चाँडो अघि बढाइनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा अधिकांश सांसदले राष्ट्रिय महत्वको निजगढ विमानस्थल निर्माणमा भइरहेको विलम्बप्रति पर्यटन मन्त्रालय, प्राधिकरणलगायत निकायको ध्यानाकर्षण गराएका थिए ।
सांसद डा दीपकप्रकाश भट्ट, मोहन बानियाँ र शेषचाँदकुमारी ताराले पर्यटन विकासका हिसाबले निजगढ विमानस्थल अपरिहार्य आयोजना भएकाले चाँडो निर्माण गरिनुपर्ने धारणा राखे । सांसद पुष्पा भुसाल, रेणुका गुरुङ, नारदमुनि राना, सुजिता शाक्यलगायतले निगमको विद्यमान दुरवस्थालाई सुधार गरी राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाइनुपर्नेमा जोड दिए। सांसद प्रेमप्रसाद तुलाचनले दुर्गम क्षेत्रको उडान सहजजीरण र निषेधित पर्यटकीय गन्तव्यमा सहजताको वातावरण सिर्जना गरिनुपर्ने बताए ।