काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योग गैरकानुनी रूपमा सञ्चालन भएको पाइएको छ । मोरङस्थित राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनी मापदण्ड पूरा नगरी सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नुन प्याकेजिङ गरी बिक्री वितरण गरेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
उद्योगले विभिन्न किसिमका मसलालगायत खाद्य पदार्थ उत्पादन गरी बजारीकरण गर्दै आएको छ । उद्योगले कानुनविपरीत नुन प्याकेजिङ गरी प्रतिकिलो ३५ रुपैयाँमा बिक्री वितरण गरेको पाइएको छ ।
कुनै पनि खाद्य वस्तु उत्पादन तथा प्याकेजिङ गरेर बिक्री वितरण गर्न उद्योगले अनिवार्य रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिनुपर्छ । विभागको स्वीकृतिविना बिक्री वितरण गर्न नपाइने कानुनी प्रावधान छ । तर, राज्यमन्त्री दुगडको उद्योगले विभागबाट अनुज्ञापत्र र विभागको स्वीकृतविना नै बजारमा नुन प्याकेजिङ गरेर बिक्री गरेको पाइएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले राज्यमन्त्री दुगडको उद्योगले प्याकेजिङ गरेको सेन्चुरी ब्रान्डको स्प्रिंकलर्स टेबल साल्ट गैरकानुनी तरिकाले उत्पादन तथा प्याकेजिङ गरी कारोबार गरेकामा सो उद्योगमाथि कानुनी कारबाही गर्नुपर्ने बताए । उनले सो ब्रान्डको नुनको बिक्री वितरणमा रोक लगाउन उपभोक्ताबाट गुनासो आएपछि उद्योगको अनुगमन तथा अध्ययन गरेको बताए । अनुगमनका क्रममा उद्योग गैरकानुनी रूपमा सञ्चालन हुँदै आएको पाइएको हो ।