काठमाडौँ – बिगत तीन साता देखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । डाक्टर केसीकी सहयोगी डा.तोसिमा कार्कीका अनुसार पछिल्ला केहि दिन देखि केसीको स्वास्थ्य अवस्था लगातार गम्भीर बन्दै गइरहेको छ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै अनसन बसेका डा.केसीलाई छातीमा अत्यधिक पीडा हुन थालेको छ भने पल्टिरहँदा पनि रिङ्गटा लाग्न थालेको छ।
डाक्टर केसी राम्रोसँग बोल्न सक्ने अवस्थामा समेत नरहेको उनले बताइन्। डा.केसीको शरीरमा अक्सिजनको मात्रा पनि घट्दै गएको कारण उनलाई अक्सिजन दिन थालिएको उनले जानकारी दिइन्। डा.केसीले अक्सिजनबाहेक अन्य कुनै औषधि लिन मानेका छैनन्। साथै आईसीयूमा जान पनि मानिरहेका छैनन्।
“अरुबेला भन्दा ढिला टुङ टुङ गर्दैछ आज मोनिटर… प्रेसर घटेको छ… अक्सिजन निरन्तर चाहिएकै छ। नाडिका नसामा रगतको हति पनि ढिला अनि मत्थर भएका छन्। पल्टिरहँदा पनि रिङ्गटा लागिरहेको छ। सर कस्तो छ भनि बोलाउँदा ईसारा गर्नुहुन्छ, ओल्टे कोल्टे फेर्दा, थोरै बोल्दा पनि श्वास बढन थालेको छ र धढ्कन अशन्तुलित तरिकाले एक्कासि बढिदिन्छ, त्यसैले ईसारा गरेर पिसाब फेर्ने कोल्टे फेर्ने भन्नुहुन्छ।”,केसीको स्वास्थ्य अवस्था बारे जानकारी गराउँदै फेसबुकमा उनले लेखेकी छन्।
डा.केसीलाई भर्ना गरिएको कोठामा बाहिरका मानिसलाई प्रवेश निषेध गरिएको पनि उनले जानकारी गराएकी छन्। डाक्टर केसी कुनै पनि हालतमा सत्याग्रह तोड्ने पक्षमा नरहेको पनि उनले जानकारी गराइन्।