कोरोना संक्रमण बढेसँगै सार्वजनिक यातायातमा कडाइ !

काठमाडौँ – यातायात व्यवसायीले कोभिड १९ महामारीका बेला सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ पूर्ण रूपमा पालना नगर्दा संक्रमणको जोखिम बढेको भन्दै सरकारले निर्देशिका कार्यान्वयनमा कडाइ गर्ने भएको छ।मुलुकमा दैनिक दुई हजारभन्दा बढी संक्रमित देखिन थालेसँगै सरकार कडाइका साथ निर्देशिका लागू गर्न कस्सिएको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना संक्रमण ह्वात्तै बढेसँगै सात सय ५३ वटै स्थानीय तहलाई यातायात व्यवसायीले निर्देशिका पालना गरे, नगरेको विषयमा समिति गठन गरेर अनुगमन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले आइतबार मुलुकभरका सबै स्थानीय तहलाई सार्वजनिक यातायात सञ्चालन तथा कार्यान्वयन निर्देशिका तथा अनुमगन सम्बन्धी पत्र र कोभिड १९ प्रकोप अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ कार्यान्वयन गराउन निर्देशन दिएको हो। स्थानीय तहमा गठित अनुगमन समितिले निर्देशिका विपरीत सार्वजनिक यातायात सञ्चालन गरेको पाइए कारवाही गर्न सक्नेछन्।

संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले २०७७ भदौ ३१ गते मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका जारी गरेका थिए।सरकारले असोज १ देखि मुलुकभर छोटो तथा लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो।तर यातायात व्यवसायीले निर्देशिकाको धज्जी उडाउँदै यातायात सञ्चालन गरिरहेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज १४ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर सार्वजनिक यातायात सञ्चालन निर्देशिका कार्यान्वयन र अनुगमनको लागि अनुरोध गरेको थियो।

भौतिक पूर्वाधार मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर शंकरसिंह धामीले संघीय मन्त्रालयलाई पत्र लेखेर निर्देशिकाको प्रभावकारी कार्यान्वयन तथा कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरण गर्न सार्वजनिक यातायात सञ्चालन तथा यात्रु व्यवस्थापनको लागि उक्त निर्देशिकाले निर्धारण गरे बमोजिमका मापदण्ड यातायात व्यवसायी, व्यवस्थापक, कम्पनी र यात्रुले पालना गरे÷नगरेको विषयमा समिति नै गठन गरी अनुगमन कार्यलाई व्यवस्थित बनाई कार्य सञ्चालनलाई सहज गराउन अनुरोध गरेको थियो।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७०८:४५

उपत्यकामा कोरोनाको जोखिम बढ्यो, गम्भीर लक्षण भएका बिरामी पनि थपिन थाले !