कांग्रेस र जसपाका सांसदद्वारा तोडफोड, रोष्टमबाटै मन्त्रीले दिए घिसारेर निकाल्न आदेश !

टवल । प्रदेश–५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी र नामाकरण गरेको प्रस्तावमाथि प्रमुख प्रतिपक्ष दलको तोडफोड र नाराबाजीका बीच छलफल भएको छ । प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले दिनको दोस्रो बैठकमा प्रतिपक्ष दलको विरोधका बाबजुत सदन सुचारु गरेपछि प्रतिपक्ष दलले प्रदेशसभामा तोडफोड गरेका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

सोमबारेको पहिलो बैठक कांग्रेसका सांसदले रोस्टम घेराउ गरेपछि केही समय स्थगित गरिएको थियो । निर्धारित समयभन्दा केही ढिला सुरु भएको दोस्रोमा सभामुख घर्तीले सरकारी प्रस्ताव पेस गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई रोस्टममा बोलाएका थिए । उनलाई रोष्टम आउन नदिन कांग्रेसका सांसदहरूले रोकेका थिए । त्यसक्रममा मन्त्री केसी र सांसदहरूबीच प्रस्ताव रहेको प्रतिवेदन खोसाखोस भएको थियो । मर्यादापालकको सहयोगमा बलजफ्ती गर्दै उनी रोस्टममा पुगेका थिए ।

रोस्टम पुगेपछि सभामुखले मन्त्री केसीलाई प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । उनले प्रस्ताव पढ्न सुरु गरेपछि कांग्रेसका सांसदले सांसद बस्न बनाइएका कुर्सी, टेबुल र माइक तोडफोड सुरु गरे । नाराबाजीकै बीचमा सभामुखले संसद बैठक अगाडि बढाएपछि कांग्रेस र जनता समाजवादीका सांसदले सभामुखमाथि पनि आक्रमणको प्रयास गरेका थिए । मर्यादापालकले कुर्सीको चकटी प्रयोग गरेर सभामुखलाई बचाएका थिए ।

तोडफोडमा सांसदहरू बैजनाथ कलवार नवलपरासी–२ ‘ख’, वसिउद्धिन खाँ रूपन्देही–४ ‘क’, अष्टभुजा पाठक रूपन्देही–४ ‘ख’, रमा अर्याल समानुपातिक, पुष्पा चौधरी समानुपातिक, सन्तोष पाण्डे रूपन्देही–३ ‘ख’, फकरुद्धिन खान रूपन्देही–५ ‘ख’ संलग्न रहेका थिए । तोडफोड सुरु भएपछि रोस्टममा बोल्दै गरेका मन्त्री केसीले पनि मर्यादापालकलाई सांसदहरूलाई घिसारेर बाहिर निकाल्न निर्देशन दिए । आफूभन्दा अगाडि रहेका मर्यादापालकलाई निर्देशन दिँदै मन्त्री केसीले भने, ‘हेल्लो, समातेर हाल्नुहोस् । घिसारेर निकालिहाल्नुस् । निकालिहाल्नुस् ।’
उक्त प्रस्ताव छलफलका लागि सभामा प्रस्तुत भए पनि कतिपय नेकपाका सांसदले बोल्न पनि पर्याप्त नपाएको गुनासो गरे । नेकपा सांसद भोजप्रसाद श्रेष्ठले राजधानी र नामाकरणका विषयमा गठित विज्ञ समूह र अध्ययन टोलीको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । त्यस्तै छलफलमा बोल्दै सांसद विष्णु पन्थीले प्रदेशको स्थायी राजधानी कपिलबस्तु बनाउनुपर्ने माग गरेका थिए । राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले संघियता नै खारेज गर्नुपर्ने तर्क राखेकी थिइन् ।

त्यस्तै सांसद सहर्षराम यादव, विजयबहादुर यादव लगायतले छलफलमा भाग लिएका थिए । प्रस्तावमाथि छलफल सकिएपछि बैठक मंगलबार मध्यान्न १२ बजेसम्मका लागि स्थगित गरिएको छ । कांग्रेसले सरकारले सर्वसत्ताबाद लादेर बैठक एकपक्षीय ढंगले अघि बढाएको भन्दै सडक र सदन दुवै तर्फबाट आन्दोलन गर्ने बताएको छ । नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले सरकारले प्रतिपक्ष भावना विपरीत सदन सुचारु गरेको भन्दै यसको जवाफ सदन र सडकबाट दिने बताइन् ।

प्रदेशसभा बैठक सुरु हुनुभन्दा अगाडि नेकपा संसदीय दलको बैठकसमेत बसेको थियो । दलको बैठकले दाङ देउखुरीको प्रस्तावमा मतदान गर्न ह्विप जारी गरेको थियो । बैठकले प्रशासनिक राजधानी देउखुरी र आर्थिक, पर्यटनको राजधानी लुम्बिनी क्षेत्रलाई बनाउनेबारे छलफल गरेको थियो । सोमबार बिहान मुख्यमन्त्री शंकर पोखरेलले पनि यस्तै आशयको भनाइ सामाजिक सञ्जालमा राखेका थिए । ‘हिजोको अखण्ड लुम्बिनीको भावना बृहत्तर लुम्बिनीमा रूपान्तर हँुदै छ । हिजो ६ जिल्लामा सीमित लुम्बिनी आज १२ जिल्लामा विस्तारित हुँदै सिंगो प्रदेशवासीको गौरवको विषय बन्दैछ’, सामाजिक सञ्जालमा उनको भनाइ थियो ।

प्रदेशसभाको मंगलबारको बैठकमा प्रस्ताव पारित गराउने तयारी भएको छ । प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य मध्ये दुईतिहाइका लागि कम्तिमा ५८ जना आवश्यक पर्दछ । ह्विप जारी भएका कारण सत्तारूढ नेकपाका ६१ सांसदमध्ये ६० जनाले मत हाल्न पाउनेछन् । जसका कारण सो प्रस्ताव पारित हुने देखिएको छ । सभामुख नेकपाकै भएका कारण उनले मत हाल्न पाउने छैनन् । प्रदेशसभामा नेपाली कांग्रेसका १९, संघीय समाजवादी पार्टीका ६ र राजमोको एक सदस्य छन् ।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७०९:१९

कंगनाको भट्टमाथि हमला !