“संघियता आवश्यक छैन भन्ने प्रमाणित भैसक्यो, प्रादेशिक व्यवस्था तत्काल खारेज गरौँ”

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रादेशिक व्यवस्था खारेज गर्न माग गरेका छन्।

प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले कुर्सीले हानेर टेबुल र माइक तोडफोड गरेको विषयमा टिप्पणी गर्दै थापा प्रादेशिक व्यवस्था खारेज गर्न माग गरेका हुन्।

फाइल तस्बिर

प्रदेश ५ को प्रदेशसभामा सोमबार दिउँसो नेपाली कांग्रेसका सांसदहरूले विरोध गरेका थिए। कांग्रेसको अवरोधका बाबजुत आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव छलफलका लागि पेश गरेपछि कांग्रेसका सांसदहरु तोडफोडमा उत्रिएका थिए।

नेपाली कांग्रेसका सांसदहरूले गरेको तोडफोडलाई अध्यक्ष थापाले ट्वीट गर्दै ध्वंसात्मक कार्य भनेका छन्। यस कारणले मात्र नभई संघियताको ५बर्षे अनुभवले समेत संघियता आवश्यक छैन भन्ने प्रमाणित भएको थापाको भनाई छ। केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गर्न उनले माग गरेका छन्।

“५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ।
यो घटनाको कारणले मात्र होइन,संघियताको ५बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ।केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ”,ट्वीट गर्दै थापाले भनेका छन्।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७१०:०२

एनसेल लाभकर विवादमा खतिवडाको राष्ट्रघात